अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 09:28

युक्रेनमा ट्रान्जिटमा रहेका २ सयभन्दा बढी नेपाली र ४४ विद्यार्थीलाई आफ्नो अवस्थाबारे जानकारी गराउन एनआरएनएको अनुरोध

बिआरटीनेपाल २०७८ फागुन १२ गते ५:५८ मा प्रकाशित

युक्रेनमा थप ४४ विद्यार्थी र २ सयभन्दा धेरै नेपालीहरू ट्रान्जिटमा रहेको गैर आवासीय नेपाली सङ्घ एनआरएनएले जनाएको छ ।  सङ्घका प्रवक्ता डीबी क्षेत्रीले विज्ञप्ति जारी गर्दै सम्पर्कमा रहेका ३८ नेपाली बाहेक पनि थप ४४ जना विद्यार्थी र ट्रान्जिटमा २ सयभन्दा बढी नेपाली रहेको जानकारी प्राप्त भएको जानकारी दिनुभयो ।

रुस–युक्रेनबीच तनाव बढेपछि युक्रेनमा रहेका नेपालीलाई आफ्नो अवस्था बारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउन र त्यहाँको घटनाको मूल्याङ्कन गरी स्वदेश फर्कन गैर आवासीय नेपाली सङ्घले आग्रह गरेको छ । त्यहाँ रहेका ३८ नेपाली राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेको र उनीहरू लामो समयदेखि युक्रेन मै स्थानी बसोबास गर्दै आएको सङ्घले उल्लेख गरेको छ ।

पछिल्लो घटनाक्रमका बीचमा त्यहाँ रहेका सबै नेपालीको अवस्था सकुशल रहेको र थप केही समस्या भएको भएमा पनि सङ्घले जानकारी गराउनका लागि नम्बरहरू तोकेको छ ।युक्रेनमा राष्ट्रिय समन्वय परिषद् युक्रेनका अध्यक्ष हरि मल्ललाई ३८०९३४३४७७०० र इमेल hariodessa@gmail.com मा र नेपालस्थित सङ्घको सचिवालयमा ०१४४११५३० नम्बरमा सम्पर्क गर्न सङ्घले आग्रह गरेको छ ।

रुस–युक्रेनबीचको तनावलाई लिएर नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्दै युक्रेनमा विकशित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । साथै तनाव नबढाउन सबै पक्षलाई अधिकतम संयमता अपनाउन पनि आग्रह गरेको छ । संयुक्त राष्ट्र सङ्घ सदस्य नेपालले संयुक्त राष्ट्रको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्त सबै सदस्य देशले पूर्ण पालना र सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू