अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६ | Colorodo: 01:51

पशुपति क्षेत्रको धर्मशाला छिटो भन्दा छिटो सरकारको स्वामित्वमा ल्याईने-पर्यटनमन्त्री मन्त्री आले

बिआरटीनेपाल २०७८ फागुन १० गते ६:५७ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बतास समूहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटो भन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताउनुभएको छ । आज मङ्गलवार महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले बतास समूहलाई हटाउने सरकारको निर्णयमा बतासले लिएर आएको अल्पकालीन आदेशसमेत अदालतले खारेज गरिसकेकाले छिटो भन्दा छिटो धर्मशाला फिर्ता ल्याइने बताउनुभएको हो ।

विगतका प्रतिनिधिले धर्मशाला कौडीको भाउमा बेचेको भन्दै उहाँले अब त्यस्तो कदम सह्य नहुने बताउनुभयो । मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरूको कहिल्यै कल्याण नहुने बताउनुभयो । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री आलेले यस वर्षको महाशिवरात्री पर्व विगतका वर्षहरूभन्दा भव्य र सभ्य रूपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

महाशिवरात्री पर्वलाई भव्य र सभ्य बनाउन कुनै पनि कसर बाँकी नराख्न उहाँले निर्देशनसमेत दिनुभयो । धर्मावलम्बीहरूलाई सहज रूपमा पानीको व्यवस्था, बत्तीको व्यवस्था मिलाउनेदेखि सरसफाइमा विशेष ध्यान दिन मन्त्री आलेले निर्देशन दिनुभयो । यस वर्षको महाशिवरात्री पर्व फागुन १७ गते मङ्गलवारका दिन परेको छ । यस वर्ष त्यो दिन पशुपति क्षेत्रमा १० लाख दर्शनार्थी मेला भर्न तथा दर्शन गर्न आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू