अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१९ | Colorodo: 15:34

पहिचान

रन्जु मार्ग २०७८ माघ २९ गते १६:२४ मा प्रकाशित

लघुकथा :

अस्पतालमा छोरीले बच्चा जन्माई सकेको खबरले बाबुआमा निकै उत्सुक भइरहेका थिए। उनीहरूलाई कहिले गएर छोरी र बच्चालाई अँगालो हालुं जस्तो भइरहेको थियो। छोरीको निम्ति तात्-तातो ज्वानोको झोल बनाइसकेकी थिइन् आमाले। बाबु पनि कामबाट चाडै घर फर्किसकेका थिए ,त्यो दिन ।
‘आमा’ अस्पताल जान तयारी गरिरहेका बाबुआमाले अचानक बाहिरबाट कसैले बोलाइरहेको आवाज सुने र हतार हतार ढोका खोल्न गए। ढोका बाहिर छोरी उभिरहेकी थिई ।
‘छोरी तिमी’अचानक बाहिर छोरीलाई देखेर बाबुआमा आश्चर्यमा परे।
‘अनि बच्चा’ बाबुले यताउता हेर्दै सोधे।
छोरी मौन थिई। उसका आँखा आँसुले लतपतिएका थिए।

‘आऊ’ आमाले छोरीलाई समातेर भित्र कोठामा ल्याइन। छोरी बिस्तारै सोफामा बसी र बाफिलो श्वास फेरी ।
‘छोरीको लागि पानी लिएर आऊ ।’ छोरी नजिक बस्दै बाबुले आमालाई भने । आमा हतार हतार भान्छातिर लागिन ।
‘मेरो मन सारै आत्तिरहेछ। के भयो छोरी ?’ चिन्तित हुँदै बाबुले छोरीतिर हेरेर सोधे। छोरी केही बोल्ने अवस्थामा थिइनन्।
‘हामीहरू तिमीलाई भेट्न आउने तयारी गरिरहेका थियौँ। तर तिमी त एक्लै पो आयौ। मन विचलित भइरहेछ। घरमा सबैलाई सन्चै त छ नि ?’
छोरी केही बोलिन ।

‘लेउ पानी । ‘आमाले छोरीलाई पानी दिइन । छोरीले एकै श्वासमा पानी घटघट पिई।
‘हामी त अचम्ममा परिरहेका छौ । के भयो छोरी ?’आमाले छोरीलाई सुम्सुमाउदै सोधिन ।
‘आमा, मेरो बच्चा ।’ छोरी भक्कानिँदै रुन थाली ।
‘के भयो बच्चालाई ?’आमा झनै आत्तिन ।
‘बुवा, मेरो बच्चा ल्याईदिनोस ।’

‘हैन, के भन्छे यो छोरी । ‘डरले बाबुको अनुहार रातो भयो ।
‘ती अपराधीहरूले मेरो बच्चालाई अरूलाई नै दिएर पठाए !’ छोरी झनै डाँको छोडेर रुन थाली ।
‘लौन, छोरीको बा, के भन्छे यो छोरी ? मेरो त हात गोडा काँप्न लागे ।’ डरले आमाको मुटुको धड्कन छिटो छिटो बढ्न थाल्यो ।
‘म सुत्केरी अवस्थामा बेसोहीबाट ब्युँझिँदा मेरो काखमा बच्चा थिएन । मैले त बच्चाको अनुहार सम्म हेर्न पाइन। ‘छोरी झनै मुर्छा परेर रुन थाली । बाबु र आमाको आँखाबाट पनि आँसु बग्न थाले ।
‘कहाँ लगे छोरी ? बाबुले डर मिश्रित स्वरमा सोधे।
‘थाहा छैन । मलाई त अस्पतालको नर्सले जानकारी दिएकी थिइन । ‘
‘कस्ता निर्दयी ? कहाँ पठाए होलान् त !’ बाबु चिन्तित बने।

‘आफ्नै सन्तान अरूलाई दिने कस्ता पापीहरू रहेछन् ! लौन ,छोरीको बा ,केही गर्न परयो। पुलिसमा रिपोर्ट दिनु परयो। ‘
‘अब रिपोर्ट गर्नु देखि बाहेक अरू के नै उपाय छ र ? धैर्य गर छोरी ,हामी केही गर्छौँ। बाबुले छोरीको शिरमा हात राख्दै आश्वासन दिए ।
‘आफ्नै रगत, आफ्नै बस, आखिर किन उनीहरूले त्यति ठुलो अपराध गरे छोरी ?
‘बच्चा गर्भमा पाँच छ महिनाको भएको थियो अल्ट्रासाउन्ड गरेका थियौँ । त्यसपछि तपाईँहरूको ज्ज्वाईले बारम्बार गर्भपतन गरौँ भनेर दबाब दिन्थे। तर मैले मानिन। एउटा जिउँदो बच्चालाई म कसरी त्यस्तो गर्न सक्थेँ र ? फेरी कानुनले पनि दिँदैनथ्यो । म त आमा हुँ नि उसको । मैले बच्चा

जसरी पनि जन्माउने अठोट गरेको थिएँ । तर घरकाहरुले अर्कै योजना बनाएका रहेछन् आमा । मेरो बच्चा कहाँ छ ? मलाई मेरो बच्चा चाहिन्छ । ‘
‘कस्ता पापी ! कस्ता अपराधीहरू ! त्यो बच्चा त उनीहरूकै रगत थियो नि ! आखिर उनीहरूले त्यस्तो किन गर्न खोजे छोरी ? बाबुले कारण जान्न चाहे ।
‘बच्चा घरमा राख्यो भने उनीहरूको इज्जत जान्छ रे । ‘
‘इज्जत ?, कस्तो इज्जत ?’
‘अल्ट्रा साउन्ड गर्दा बच्चाको लिङ्ग छुट्टिएको थिएन । लिङ्ग नछुट्टिएको बच्चाको पहिचान हुँदैन रे ! यस्तो बच्चाको नातेदार भन्नुपर्दा उनीहरूको मान सम्मान घट्छ रे !!’
‘उफ् !! मेरो बच्चा !