अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५६ | Colorodo: 06:11

स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा पर धकेल्न पाइँदैन : अध्यक्ष ओली

बिआरटीनेपाल २०७८ माघ ९ गते ६:०१ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेलामा निर्वाचन भए पनि आफूहरू सामना गर्न तयार रहेको बताउनुभएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ओलीले आफुहरुको पार्टी गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको र आज पनि आफुहरु यो मान्यतामा अडिग रहेको भन्दै जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार रहेको उल्लेख गर्नुभएको हो ।

आसन्न स्थानीय तहको निर्वाचनलगायत विषयमा आज अध्यक्ष ओलीले पत्रकार सम्मेलन आयोजना गर्नुभएको थियो । तर ओलीमा कोरोना संक्रमण पुष्टि भएसंगै पत्रकार सम्मेलन स्थगन पार्टीको धारणा प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्नुभएको हो । स्थानीय तह निर्वाचन भने पर धकेल्ने सत्ता गठबन्धनको प्रयास स्वीकार्य नहुने ओलीले बताउनुभएको छ । संघीय चुनाव छिटो गर्ने बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइने उहाँको भनाइ छ । उहाँले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्नेमा आफ्नो पार्टी स्पष्ट, द्विविधारहित र दृढ अडानमा रहेको उल्लेख गर्दै त्यसबारे हुने कुनै पनि अलमल, धोखाधडी र बहानाबाजी आफ्नो पार्टीलाई किमार्थ स्विकार्य नहुने चेतावनी दिनुभयो ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनलाई पर धलेल्न सत्तारुढ गठबन्धनले २०७९ बैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने कार्ड फ्याँकेको उल्लेख गर्दै त्यसले मुलुकमा राजनीतिक अन्यौल सृजना गर्ने दावी समेत गर्नु भयो । उहाँले जनमत पार्टीका नेताहरुलाई गौर काण्डजस्तै घटना दोहो¥याएर हत्या गर्न धम्की दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुका यादवलाई अझै पदबाट मुक्त नगरेको भन्दै आपत्ति प्रकट गर्नु भयो ।

अध्यक्ष ओलीले एमसीसीबारे सत्तारुढ दलहरुले द्वैध चरित्र देखाएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरामा एकतर्फी संरचना निर्माण गर्दा पनि सरकारले आपत्ति नजनाएर निरीहता प्रकट गरेको आरोप समेत लगाउनुभयो । अध्यक्ष ओलीले ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्नहरुलाई सरकारले उन्मुक्ति दिने प्रपञ्च गरिरहेको आरोप लगाउनु भयो । उहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अनुसन्धानमा आधारित भएर अघि बढाएको मुद्धालाई थप अनुसन्धानको नाममा सरकारी वकील कार्यालयमार्फत् फिर्ता गराएर सरकारी सम्पत्तिमा हिनामिना गर्नेहरुलाई उन्मुक्ति दिन खोजेको दावी गर्नु भयो ।

अध्यक्ष ओलीले सो जग्गाको हिनामिनामा संलग्न जोकोहीलाई कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनु भयो । ओलीले सरकारकै अर्कमण्यताका कारण अर्थतन्त्रका सबै सूचकहरुले मुलुकमा अनिष्टको संकेत गरेको समेत टिप्पणी गर्नुभयो । राज्यका तीनै अंगहरू कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकाले काम गर्न नसकेको उल्लेख गर्दै ओलीले राष्ट्र नै असफल बन्ने जोखिम बढेको समेत बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू