अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

माओवादी एक नम्बर पार्टी बन्ने दिशामा रहेको माओवादी अध्यक्ष प्रचण्डको दाबी

बिआरटीनेपाल २०७८ मंसिर ११ गते ७:१२ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही महिनामै माओवादी एक नम्बर पार्टी बन्ने दिशामा रहेको बताउनुभएको छ । हिमाल, पहाड र तराई – मधेस भ्रमणका क्रममा आफूले माओवादी प्रति जनआकर्षण बढेको देखेको भन्दै प्रचण्डले यस्तो बताउनुभएको हो । आज माओवादी केन्द्रको पालिकास्तरको अधिवेशनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रचण्डले अझ सक्रियता, दृढता र एकढिक्का भएर पार्टी सङ्गठन बनाउने कुरामा चुक्न नहुने बताउनुभयो ।

प्रचण्डले माओवादीलाई निष्कृय हुन छुट नरहेको पनि धारणा राख्नुभयो । देशभर सदस्यता सङ्ख्या ८ लाख पुगेको भन्दै एक जनाले तीन वा चार जना मतदाता तयार गर्न सके फेरि देशको नेतृत्व गर्न सकिने धारणा राख्नुभयो । माओवादी आन्दोलनकै कारण देशमा परिवर्तन भएको भन्दै उहाँले त्यसको स्वामित्व र अपनत्व आफूहरूले लिनुपर्ने बताउनुभयो । पार्टी संगठनलाई बलियो बनाउने, जनतासँगको सम्बन्धलाई उच्च बनाउने कुरामा माओवादीले ध्यान दिनुपर्ने प्रचण्डको भनाइ छ ।

यो सम्मेलनबाट महिलालाई ३५ प्रतिशत, युवाहरूको २० प्रतिशत, दलित, मधेसी, मुस्लिम, आदिवासी जनजाति समानुपातिक रूपमा सहभागिता बढाइने पनि प्रचण्डले बताउनुभयो । यस्तै माओवादी केन्द्रका नेतम शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने बताउनुभएको छ । विगतका केही वर्षमा पार्टी आन्तरिक समस्यामा अल्झेको भन्दै पौडेलले पार्टीभित्रका समस्याको समीक्षा गरेर सङ्गठन बिस्तारमा लागेको बताउनुभयो । आज पर्वतमा पुगेर मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । माओवादी हाल संगठन बिस्तारमा केन्द्रीत रहेको छ । देशदौडाहमा रहेका नेताहरुले पछिल्लो समय यस्तै दाबी गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू