अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१८ | Colorodo: 12:33

मंगल ग्रह मिसनमा खटेका वैज्ञानिक उत्साहित, उत्कृष्ट स्थानमा पर्सिभिअरन्स यान पुगेको दावी

बिआरटीनेपाल २०७८ असोज २३ गते ८:०१ मा प्रकाशित

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको मङ्गल ग्रह मिसन पर्सिभिअरन्स सञ्चालन गरिरहेको वैज्ञानिक टोली यति बेला निकै उत्साहित भएको छ । उनीहरू पर्सिभिअरन्सलाई मंगल ग्रहमा जीवन रहेको संकेत खोज्न उपलब्धमध्ये उत्कृष्ट स्थानमा पठाइएकोबारे ढुक्क बनेका छन् ।

पर्सी उपनामले चिनिने पर्सिभिअरन्स गत फेब्रुअरीमा जेजेरो क्रेटरमा उत्रिएको थियो र त्यसयता सो उपकरणले त्यहाँ वरपरका हजारौँ तस्बिरहरू खिचेर पृथ्वीमा पठाएको छ । ती तस्वीरहरूको विवरण यो साता प्रकाशित साइन्स म्यागाजिनमा छापिएको एउटा वैज्ञानिक लेखको प्रमुख अंश हो । ती तस्वीरहरूले कुनै बेला पश्चिमबाट आउने नदीको पानीमा आधारित ठूलो ताल रहेको पुष्टि भएको वैज्ञानिकहरूको दावी छ ।

सो ताल आजभन्दा साढे तीन अर्ब वर्ष पहिले मंगल ग्रहमा रहेको बैज्ञानिकको अनुमान छ । पर्सिभिअरन्सले खिचेको तस्बिरले जहाँ नदीको पानीले तालको पानीलाई भेट्थ्यो त्यहाँ नदीको पानीको बहाव कम भएर पृथ्वीमा जस्तै भूआकार बनेको देखाउँछ । त्यस्तै वातावरणमा सूक्ष्म जीवहरू हुने हुँदा त्यहाँ तिनका रासायनिक अवशेष बाँकी रहेका हुन सक्छन् ।

पर्सिभिअरन्सलाई अब कोडियक भएको स्थानमा पठाएर अध्ययनका लागि त्यहाँको माटो झिकेर सन् २०३० को दशकमा पृथ्वीमा ल्याइने छ । ती नमुनाको अध्ययनबाट वैज्ञानिकहरूले मङ्गल ग्रहमा कुनै बेला जीव थियो वा थिएन भन्ने कुराको निक्र्यौल गर्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू