अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

”संविधान मान्दैनौँ भन्नु जनतालाई धोका दिनुमात्रै हो” – अध्यक्ष ओली

बिआरटीनेपाल २०७८ असोज ३ गते ७:५१ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान सर्वस्वीकार्य भएको बताउनुभएको छ । आज आइतवार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालको संविधान सर्वस्वीकार्य भएको बताउनुभएको हो । संविधान जारी गर्दाताका केही मतभेद भएको भए पनि अहिलेको अवस्थामा संविधान सर्वस्वीकार्य बनेको उहाँले बताउनुभयो ।

मधेश केन्द्रित दलहरूप्रति लक्षित गर्दै उहाँले नेपालको संविधानको निष्ठा र बफादारिताका साथ शपथ खाइ लाभको पदमा पुग्ने र संविधानमा मतभेद कायम नै छ भन्ने दोहोरो नीति नागरिकलाई धोका दिने कुरामात्रै भएको उहाँले बताउनुभयो ।

संविधान संशोधन गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा संविधानको अनुसूचीमा राख्ने बेला सर्वसम्मति भएको उल्लेख गर्दै उहाँले संविधानको आधारभूत प्रस्तावना, मूल्य–मान्यता सही छन् भन्ने कुरामा सर्वस्वीकार्यता भएको बताउनुभयो । अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाउनका लागि असंवैधानिक, अलोकतान्त्रिक र गैरकानुनी क्रियाकलाप भएको भन्दै संविधानको रक्षा र कार्यान्वयनका लागि यस्ता क्रियाकलापले वाधा सिर्जना गर्ने बताउनुभयो ।

उहाँले सर्वोच्च अदालतप्रति लक्षित गर्दै संविधानको व्याख्याको नाममा संशोधन गरिएको आरोप पनि लगाउनुभयो । उहाँले संविधानमा स्पष्ट व्याख्या गरिएको कुरालाई उल्लङ्घन गरेर अर्को कुरा गर्नु व्याख्या नभइ संशोधन भएको तर्क गर्नुभयो । संविधान संशोधनको अधिकार संसद्को दुई तिहाइलाई मात्रै भएको भन्दै उहाँले यस्तो काम अन्तैबाट हुनु खतरनाक भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू