अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५२ | Colorodo: 14:07

आगामी पुषमा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रस्ताव

बिआरटीनेपाल २०७८ साउन ३० गते ६:५८ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी पुषमा राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गर्नुभएको छ । आज देखि काठमाडौंको बत्तीसपुतलीमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेस गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डको प्रस्तावमा यही भदौ मसान्त भित्र माओवादी केन्द्रले देशैभरि पार्टी सदस्यता वितरण एवं नवीकरणको काम सम्पन्न गर्ने उल्लेख छ । त्यसैगरी असोजमा टोल देखि वडा हुँदै गाउँ सम्मेलनहरु गरिसक्ने र कात्तिकमा जिल्ला अधिवेशन गर्ने भनिएको छ । त्यस्तै देशैभरका वडाहरूमा एकै दिन सम्मेलन सम्पन्न गर्ने प्रस्ताव छ ।

यसैगरी, ७७ जिल्लाको सम्मेलन पनि एकै दिन गर्ने भनिएको छ । मङ्सिर १५ मा ७ वटै प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ । अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी फेरि प्रमुख शक्ति बन्ने आधार तयार भएको दाबी समेत गर्नुभएको छ । आगामी चुनावमा आफ्नो पार्टीलाई प्रमुख शक्ति बनाउने गरी तयारी थालिएको उहाको भनाई थियो ।

बैठकमा समसामयिक परिस्थितिबारे बोल्दै प्रचण्डले आगामी निर्वाचन सम्म आउँदा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना रहेको बताउनुभएको थियो । पछिल्ला राजनीतिक घटना क्रममा माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको हुनाले चुनावमा प्रमुख शक्ति बन्ने राजनीतिक आधार तयार भएको प्रचण्डको विश्लेषण छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू