अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

राजनीतिमा संलग्न शिक्षकलाई कारबाही गरे/नगरेको विवरण १५ दिन भित्र पठाउन मन्त्रालयको परिपत्र

बिआरटीनेपाल २०८१ जेठ ३ गते ७:३३ मा प्रकाशित

राजनीतिक दलको कार्यकारी पदमा बहाल रहेका शिक्षकलाई कारबाही गर्न दिइएको निर्देशन कार्यान्वयन भए नभएको विवरण १५ दिन भित्र उपलब्ध गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ । केन्द्रको शैक्षिक योजना तथा विकास महाशाखा अन्तरगतको शिक्षक व्यवस्थापन समन्वय शाखाले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको हो ।

परिपत्रमा भनिएको छ- ‘राजनीतिक दलको सदस्यता लिएका, राजनीतिक दलको कार्यकारिणी समितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि भएका शिक्षक कर्मचारीलाई प्रचलित कानुन बमोजिम के कस्तो कारबाही प्रक्रिया अघि बढाइएको छ भन्ने विषयका साथै विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्ने तथा काजमा बस्ने के कति शिक्षक छन् र ती मध्ये कति शिक्षकलाई पदाधिकार रहेको विद्यालयमा फिर्ता गर्ने व्यवस्था गरिएको छ सो सम्बन्धमा हालसम्मको प्रगति विवरण यो पत्र प्राप्त गरेको मितिले १५ दिनभित्र यस केन्द्रमा उपलब्ध गराउनु हुन निर्णयअनुसार अनुरोध छ ।’

केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने मन्त्रालयको गत वैशाख २८ गतेको निर्णय कार्यान्वयनका लागि यो परिपत्र गरिएको केन्द्रका निर्देशक नारायणप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू