अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन सार्वजनिक

बिआरटीनेपाल २०७८ साउन २४ गते ७:१३ मा प्रकाशित

सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित एक कार्यक्रम बीच प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनमा रहेका दलका नेताहरुले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा कार्यदल संयोजक एवं नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले साझा कार्यक्रम र कार्यविधि पढेर सुनाउनुभएको थियो ।

सत्तारुढ दलका शीर्ष नेताहरु, मन्त्रीहरु र कार्यदलका संयोजक लगायतको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिएको थियो । कार्यदलले गत शुक्रबार प्रधानमन्त्री देउवा लगायत शीर्ष नेतृत्वलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ । प्रतिवेदनमा कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति, राष्ट्रियहितको सम्वद्र्धन, सङ्घीयताको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रुपान्तरण, तत्कालिक राहत पुनःनिर्माण तथा पुनःस्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्ध लगायतलाई प्राथमिकता दिइएको छ ।

सरकारको प्रमुख प्राथमिकतामा रहेको कोरोना रोकथाम र नियन्त्रणका विषयलाई प्रतिवेदनमा मुख्य रूपमा समेटिएको छ । गठबन्धनलाई कसरी दीगो बनाउने भन्ने विषय पनि प्रतिवेदनमा समावेश गरिएको छ । वर्तमान सरकारमा मन्त्रीले पालना गर्नुपर्ने आचारसंहितालाई समेत प्रतिवेदनमा समावेश गरिएको छ । काँग्रेसका महामन्त्री खड्का संयोजक रहेको सात सदस्यीय कार्यदलले प्रतिवेदन तयार पारेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू