अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

दार्चुला घटनाः छानविन समितिले दिएको प्रतिवेदनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पनि तयार – गृहमन्त्री खाँण

बिआरटीनेपाल २०७८ साउन १९ गते ७:१० मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्ने क्रममा तुइनबाट दार्चुलाका जयसिंह धामी वेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानविन समिति गठन गरेको बताउनुभएको छ । गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा छानविन समितिले दिएको प्रतिवेदनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनुभयो ।

आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उहाँले छानविन समितिले घटनास्थलमै गएर छानविन गर्ने र प्रत्यक्षदर्शीहरुको बयानलाई मूल आधार बनाएर छानविन गर्ने जानकारी दिनुभयो । स्थानीय नागरिकसँग पनि बुझेर छानविन समितिले सत्य तथ्यसहितको प्रतिवेदन ल्याउने र प्रतिवेदनले दिएको निष्कर्षलाई सरकारले दृढताका साथ अघि बढाउनेछ तथा जस्तोसुकै कदम चाल्न पनि सरकार तयार हुने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

सरकारले सो घटना घटे लगत्तै मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो । गृहमन्त्री खाँणले सो छानविन समितिले सत्य तथ्य सहितको प्रतिवेदन बाहिर नल्याउँदा सम्म सरकारले थप केही पनि बोल्न नमिल्ने पनि स्पष्ट पार्नुभयो । यस बारेमा सत्य, तथ्य जानकारी गराउन सांसदहरुले माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू