अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५९ | Colorodo: 15:14

जेठ महिनायता मनसुनजन्य विपतमा परि ६६ जनाको मृत्यु, ६ सय १९ घर पूर्ण क्षति

बिआरटीनेपाल २०७८ साउन १८ गते ७:२७ मा प्रकाशित

जेठ महिनायता मनसुनजन्य विपतका कारण ६६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार २०७८ जेठ महिनायता हालसम्म मनसुनजन्य विपतका घटनामा परि ४० जना बेपत्ता भएका छन् भने ८१ जना घाइते भएका छन् । आज बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तथ्याङ्क प्रस्तुत गर्दै मनसुनका कारण सिन्धुपाल्चोक, मनाङ, गोरखा, कास्की लगायतका ५५ जिल्ला प्रभावित भएको बताउनुभयो । विभिन्न ४० जिल्लामा ६ सय १९ घर पूर्ण रुपमा र १ सय ६२ घर आंशिक रुपमा क्षति भएको मन्त्री खाँणले प्रस्तुत गर्नुभएको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्कका अनुसार गत असार १ गते सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, याङ्ग्री र लार्के नदीमा आएको बाढीबाट ५ जनाको मृत्यु, २० जना बेपत्ता र ६ जना घाइते भएका थिए । ३ सय ३८ घर पूर्णरुपमा क्षति भएको छ भने ७ वटा पुल, १४ वटा झोलुङ्गे पुल, एक माछा फार्म र ३२ वटा सरकारी भवनमा क्षति पुगेको छ । सोही दिनको बाढी र पहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्समा क्षति पुगेको छ । यस्तै जनजीवन सामान्य अवस्थामा फर्किंदै गर्दा यही साउन १६ र १७ गते राति फेरि आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा थप क्षति पुर्याएकोे छ ।

लेदो, गेग्रान सहितको बाढीले ५३ वटा घर, एउटा पक्की पुल, एउटा झोलुङ्गे पुल र एउटा सामुदायिक भवनमा क्षति भएको गृहमन्त्री खाँणले जानकारी दिनुभयो । हेलम्बु क्षेत्रमा पुग्ने राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । उक्त स्थानमा जानका लागि वैकल्पिक बाटोको रुपमा काठमाडौं, सुन्दरीजल, पाटीभञ्ज्याङ, चित्रे, कुटुम साँगा हुँदै मेलम्ची खानेपानी मुहानसम्म पुग्ने सडक मार्ग सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिइएको मन्त्री खाँणले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू