अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 09:59

तेल ट्याङ्करमा भएको आक्रमणमा इरान संलग्न रहेको इजरायलको आरोप, कडा प्रत्युत्तर दिने चेतावनी

बिआरटीनेपाल २०७८ साउन १६ गते ६:५९ मा प्रकाशित

इजरायलले दुई जनाको ज्यान जाने गरी तेल ट्याङ्करमा भएको आक्रमणमा इरान संलग्न भएको आरोप लगाएको छ । ओमानको तटीय क्षेत्रबाट अरब सागरतर्फ गइरहेको बेला एउटा ट्याङ्करमा आक्रमण हुँदा एक बेलायती र एक रोमानियाली नागरिकको ज्यान गएको थियो । इजरायलका पानीजहाज उद्यमी एआल ओफरको कम्पनीले घटनाको कारणबारेमा छानबिन भइरहेको बताएका बेला इजरायलका विदेशमन्त्री याइर लापिडले विज्ञप्ति निकालेर इरानी आतङ्कवादले आक्रमण गरेको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।

विज्ञप्तिमा आक्रमणको कडा प्रत्युत्तर दिने भन्दै मुद्दालाई संयुक्त राष्ट्रसंघमा प्रवेश गराउने उल्लेख छ । इरानले आफूमाथिका आरोपबारे प्रतिक्रिया जनाएको छैन । आक्रमण भएको क्षेत्रमा तनाव बढाउने विभिन्न घटना भइरहेका बीबीसीले जनाएको छ । आक्रमणमा परेको जहाजलाई अमेरिकी जलसेनाको सुरक्षामा गन्तव्यतिर लगिँदैछ । अमेरिकी विदेश मन्त्रालयले ट्याङ्करमा भएको आक्रमणको घटनाप्रति चिन्ता प्रकट गर्दै अवस्थालाई नजिकबाट नियालिरहेको बताएको छ । आक्रमणका घटनामा जहाजमा क्षति भए पनि मानिसको ज्यान जाने घटनालाई दुर्लभ मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू