अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

हङकङमा प्रजातन्त्र पक्षधर पत्रिकाको कार्यालयमा प्रहरीको छापा

बिआरटीनेपाल २०७८ असार ३ गते २२:३९ मा प्रकाशित

चीनको स्वशासित क्षेत्र हङकङमा प्रजातन्त्र पक्षधर मानिएको एक पत्रिकाको कार्यालयमा ५ सय सुरक्षाकर्मी पठाएर छापा मारिएको छ । राष्ट्रिय सुरक्षासम्बन्धि कानून उल्लंघन गरेको आरोप लगाउँदै प्रजातन्त्र पक्षधर पत्रिका एपल डेलीको कार्यालयमा बिहीबार विहानै छापा मारिएको हो ।

प्रहरीले पत्रिकाका प्रधान सम्पादकसहित चार जना कार्यकारीलाई पनि उनीहरुको घरबाटै नियन्त्रणमा लिएको छ । पत्रिकासँग सम्बन्धित अरु तीन कम्पनीसहितको २३ लाख अमेरिकी डलर पैसा पनि रोक्का गरेको छ ।

चीन सरकारका नीति र नेतृत्वको आलोचक मानिने पत्रिकाका मालिक जिम्मी लाई लाई भने यसअघि नै नियन्त्रणमा लिएर जेल पठाइएको छ ।हङकङ र मुख्यभूमि चीनविरुद्ध नाकाबन्दी गर्न माग गर्दै सन् २०१९ देखि पत्रिकामा ३० वटा आर्टिकल छापेको आरोप प्रहरीले लगाएको छ ।

गत वर्ष राष्ट्रिय सुरक्षा ऐन ल्याएयता हङकङमा दर्जनौं अधिकारवादीलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम खुलाएको छैन भने पाँच जना पक्राउ गरिएको स्वीकारेको छ । प्रहरीले पत्रिकाको कम्प्युटरलगायतका सामग्री जफत गरेको छ । एक वर्षभित्र एपल पत्रिकामा छापा मारिएको यो दोस्रो पटक हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू