अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

चीनको जी–७ देशलाई चेतावनी , ‘अब सीमित देशले विश्वको निर्णय गर्न सक्दैनन्’

बिआरटीनेपाल २०७८ जेठ ३० गते ७:४५ मा प्रकाशित

चीनले जी–७ देशका नेताहरुलाई चेतावनी दिँदै सीमित देशले विश्वको भविष्यका बारेमा निर्णय लिने दिन गएको बताएको छ । लन्डनमा चिनियाँ दूतावासका प्रवक्ताले भन्नुभयो, ‘कुनै पनि देश चाहे ठूलो होस् या सानो, बलियो होस् या कमजोर, गरिब होस् या धनी, सबै बराबर छन् र विश्वव्यापी मामिलामा सबै देशसँग विचार–विमर्श गरिसकेपछि मात्र त्यसको समाधान खोज्नुपर्छ ।’जी–७ देश चीनको सामु आफैँलाई एकजुट देखाउने प्रयास गरिरहेका बेला चीनले यस्तो चेतावनी दिएको हो । जी–७ देशमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका रहेका छन् ।

बेलायतको कर्नभेलमा भएको यस शिखर सम्मेलनमा अमेरिकाका राष्ट्रपति जो बाइडेनले कोरोना महामारीका कारण विश्वमा लोकतान्त्रिक देश र तानाशाही व्यवस्था भएका देशबीच सङ्घर्षको स्थिति बनेको बताउनुभएको आफ्ना संवाददातालाई उद्धृत गर्दै बीबीसीले भनेको छ ।शीत युद्धका क्रममा सन् १९९१ मा सोभियत सङ्घ विघटनपछि विश्व समुदायमा चीन एक महाशक्तिका रुपमा उदाउनुलाई अहिलेको दशकमा सबैभन्दा ठूलो विश्व घटनाक्रमका रुपमा हेरिने गरिएको छ । चीनले गएका केही दशकमा विश्वभर नै आफ्नो प्रभाव बढाएको छ ।

उसले आफ्नो बेल्ट एन्ड रोड इनिशिएटिभ अनुसार विश्वकै केही विकासशील देशमा ठूलो मात्रामा लगानी गरेको छ । गएको चार दशकमा चीनले निकै ठूलो सैन्य र आर्थिक शक्ति हासिल गरेको छ । चीनका राष्ट्रपति सी जिनपिङको कदमलाई कसरी जवाफ दिइने भन्नेबारेमा पनि जी–७ को बैठकमा चर्चा भइरहेको छ । बेलायतमा सात देशका राष्ट्राध्यक्ष तीन दिवसीय सम्मेलन गरिरहेका छन् । पश्चिमी देश चीनको प्रभाव कम गर्न सम्मेलनले बलियो विकल्प पेस गरेको देख्न चाहन्छन् । जी–७ देश चीनको अरबौँ डलरको बेल्ट एन्ड रोड इनिसिएटिभको विकल्पको रुपमा विकासशील देशका लागि योजना बनाउने काम गरिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू