अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२६ | Colorodo: 14:41

“कोरोनाका कारण होटल व्यवसाय गम्भीर सङ्कटमा, सरकारले नहेरे सधैँका लागि बन्द हुने खतरा” – हान

बिआरटीनेपाल २०७८ जेठ १३ गते ७:४२ मा प्रकाशित

होटल सञ्चालकहरूले कोरोना महामारीका कारण व्यवसाय ठूलो सङ्कटमा परेको भन्दै आउँदो बजेटमा सरकारसँग सहयोगको अपिल गरेको छ । होटल सङ्घ नेपाल (हान) ले गम्भीर सङ्कटमा पुगेको होटल तथा पर्यटन उद्योगका लागि सहयोगी व्यवहारसहितको बजेट ल्याउन माग गरेको हो ।

यो समयमा राज्यको तर्फबाट बृहत् पर्यटन पुनरुत्थान योजना लागू गर्न, चालु आर्थिक वर्षको बजेटमा दिएका सुविधाहरू दोब्बर बनाउन पनि हानको माग छ । हानले होटल उद्योगको पुनरुत्थान गर्न व्यवसाय संरक्षण कोष बनाएर आश्रित कर्मचारीका लागि रोजगार संरक्षण कोषको लागि व्यवस्था गर्न माग गरेको छ ।

यस्तै तीन वर्षका लागि विशेष कर सहुलियतको व्यवस्था गर्दै मूल्य अभिवृद्धि कर (भ्याट) मा ५० प्रतिशत र आयकरमा पाउँदै आएको २० प्रतिशत छुटलाई ५० प्रतिशत कायम गर्न तथा जरिबाना तथा हर्जाना मिनाहा गरिनुपर्ने माग छ ।

यस्तै बैंकको सावाँ र ब्याज दुई वर्षबाट बढाएर लामो अवधिसम्म किस्ताबन्दीमा तिर्ने व्यवस्था मिलाउन र होटल क्षेत्रका लागि आउँदो दुई वर्षको विद्युत् महसुलमा ५० प्रतिशत छुट दिन हानले माग गरेको छ । आन्तरिक पर्यटनलाई बढावा दिन सरकारी तथा सङ्गठित क्षेत्रमा कार्यरत कर्मचारीलाई अनिवार्य पर्यटन बिदा दिइ नगद आर्थिक प्रोत्साहनसहित घुम्न पठाउन पनि हानले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू