अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

सजगतापूर्ण लचिलो मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको अडानः प्रवक्ता भट्ट

बिआरटीनेपाल २०८१ जेठ ४ गते ७:१३ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले घरजग्गा खरिद र सवारी कर्जामा लचिलो नीति लिएको छ। राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सवारी कर्जा र असल कर्जाको जोखिम भार घटाउँदै र घरजग्गा खरिद, संस्थापक शेयर बिक्रीमा लचिलो नीति लिएको हो। मौद्रिक नीतिले बैंकदर, नीतिगत दरहरूमा परिमार्जन परिवर्तन नगरी नियामक नीतिहरूमा केही सहज बनाउने गरी लचक नीति लिएको छ। ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गर्नेगरी मौद्रिक नीतिको समीक्षा आएको छ।

मौद्रिक नीतिको समीक्षाले बैंक तथा वित्तीय संस्थाहरूको थप पुँजी जुटाउन सहजीकरण गर्ने भएको छ। बैंकहरु पुँजीकोष सकसमा परेका बैंकहरुलाई सहजिकरण गर्ने गरी मौद्रिक नीति समीक्षामार्फत सुदृढ बनाउन पनि बाटो दिएको छ। राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले व्यक्तिगत आवासीय घरको कारोबारले सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउने निष्कर्षसहित घर कर्जाप्रति लचिलो नीति लिएको बताउनुभयो। मौद्रिक नीतिको समीक्षा सार्वजनिकपछि भट्टले चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यदिशा अनुसार लचिलो मौद्रिक नीति लिँदै गएको बताउनुभयो ।

आर्थिक वर्षको मौद्रिक नीतिलाई लचिलो र सहज बनाउँदै लैजाने राष्ट्र बैंकको अडान भएकाले त्यही अनुसार मौद्रिक नीतिका समीक्षामा निरन्तरता दिँदै आएको उहाँको भनाइ छ। मौद्रिक नीतिको समीक्षा बजारलाई सहज बनाउने हिसाबमा आएको उहाँले दावी गर्नुभयो। प्रवक्ता भट्टले बैंकको ब्याजदर करिडोर, बैंक दर, नीतिगतदर, वैधानिक तरलतादर पनि स्थिर राखिएको बताउनुभयो।

नियमाकीय व्यवस्थाहरूमा मुख्य रुपमा बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो प्राथमिक पुँजीलाई बिस्तार गर्नुपर्ने, कर्जा बिस्तार क्षमता बढाउनुपर्ने र पुँजीको दबाबमा संस्थाहरूलाई सहज गर्ने नीति लिएको उहाँले उल्लेख गर्नुभयो। यस्तो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो पुँजीको व्यवस्थापनमा सजिलो बनाउने उहाँको दाबी छ। बैंक तथा वित्तीय संस्थाहरूले असल कर्जाका लागि कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिएको भन्दै यसले बैंक तथा वित्तीय संस्थालाई केही साधन परिचालनका लागि सहज बनाउने उहाँले बताउनुभयो । उनले बैक वित्त संस्थाहरूले ठूलो रकम शेयरमा अथवा अन्य उपकरण डिबेन्चरमा लगानी गर्ने गरेको भन्दै त्यस्तो लगानी १ वर्ष पुगेपछि प्राथमिक पुँजीको २० प्रतिशत नबढ्ने गरी एक वर्षमा बिक्री वितरण गर्न सक्ने व्यवस्था ल्याएको बताए।

यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरूलाई पनि ब्यालेन्ससिट, लगानीको व्यवस्थापन गर्न सहज बनाउने र आर्थिक क्रियाकलापमा अप्रत्यक्ष रुपमा सम्पती बजारलाई चलायमान बनाउनका लागि भूमिका खेल्ने भट्टले भनाइ छ। उहाँका अनुसार घर किन्नका लागि बैंकबाट लिने ऋणको सीमा बढाइएको छ। आफ्नो आम्दानीको ५० प्रतिशत किस्ता हुन आउने गरी बैंकबाट ऋण पाइने गरेकोमा अब भने ७० प्रतिशतसम्म बैंकबाट ऋण र ३० प्रतिशत आम्दानी भए पुग्ने बनाइएको भट्टले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘ऋणको माध्यमबाट केही सहजिकरण गर्नुपर्छ भन्ने थियो त्यसका लागि पनि ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट ७० प्रतिशत पुर्‍याईएको छ। ७० प्रतिशत पुर्‍याएका कारणले सर्वसाधारणका लागि घरकर्जा तिर्न सहज बनाउने अवस्था हुन्छ। नयाँ ऋणीहरुलाई पनि सहज बनाउने काम गर्छ। सवारी साधन र हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जा सहजिकरण गरिएको छ। जसमा जोखिमभार १२५ प्रतिशत घटाई १०० प्रतिशत कायम गरेको छ।’

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान जोखिमभार रहेका हायर बैंक तथा वित्तीय संस्थाहरूको १ वर्ष अवधि व्यतित भइसकेका लगानी मध्यबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउने व्यवस्था मिलाइने नीति लिएको छ। असल रहेका कर्जाको प्रोभिजनिङ घटाउँदै बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरूका लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू