अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५५ | Colorodo: 11:10

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जहाज उडान र अवतरणका लागि तयार

बिआरटीनेपाल २०७८ जेठ ५ गते ७:४३ मा प्रकाशित

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जहाज उडान र अवतरणका लागि तयार भएको छ ।विमानस्थलको टावर, धावनमार्ग लगायतका क्षेत्रमा आवश्यक सबै विद्युतीय उपकरण जडान गर्ने काम चैत दोस्रो सातामै सम्पन्न भइसकेको हो । विमानस्थल ‘क्यालिब्रेसन फ्लाइट’का लागि तयार भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना आईसीबी–टुका प्रमुख प्रवीण न्यौपानेले बताउनुभयो ।

‘क्यालिब्रेसन फ्लाइट’ भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै उडानसम्बन्धी अन्य कार्य निर्देशन गर्ने धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणको परीक्षण हो ।यसअघि नै परीक्षण गर्ने तयारी गरिएको भए पनि कोरोना महामारीका कारण प्रभावित भएको थियो । स्थिति सहज हुने बित्तिकै जहाज नै उडान र अवतरण गरेर ‘क्यालिब्रेसन फ्लाइट’ गरिने न्यौपानेले जानकारी दिनुभयो ।

विमानस्थलको निर्माण चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ । कोरोना भाइरस संक्रमणका बीच पनि स्वदेशी र विदेशी गरी १२० कामदारले विमानस्थलमा काम गरिरहेका छन्।आयोजनाको कूल लागत छ अर्ब २२ करोड ५१ लाख २० हजार १२८ रुपैयाँ रहेको छ ।

निर्माण पूरा भएर उडानयोग्य भए पनि विमानस्थल कहिलेदेखि सञ्चालनमा आउछ भन्ने भने अनिश्चित छ ।विमानस्थल सञ्चालन गर्नका लागि आवश्यक सुविधा, सुरक्षा, दिइने सेवा, कर्मचारी जनशक्ति परिचालन, वायुसेवा कम्पनीको काउन्टर, अध्यागमन, क्याटरीङ, फ्युलिङ र ग्राउण्ड ह्याण्डलिङ लगायतका कुराको अझै पूरा प्रबन्ध हुन बाँकी नै छ। नागरिक उड्डयन प्राधिकरणले नियुक्त गरेको प्रतापबाबु तिवारीले विमानस्थल सञ्चालन तयारी कार्यदल संयोजकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू