अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 14:13

अस्ट्रेलिया र मोडेर्नाबीच २ करोड ५० लाख डोज खोप खरिद सम्झौता

बिआरटीनेपाल २०७८ वैशाख ३० गते ८:१५ मा प्रकाशित

अस्ट्रेलियाले अमेरिकी औषधि निर्माता कम्पनी मोडेर्नासँग कोरोना भाइरसविरुद्धको दुई करोड ५० लाख डोज खोप किन्न सम्झौता गरेको छ । आफ्ना सबै वयस्क नागरिकलाई खोप लगाउन सन् २०२१ भित्र एक करोड र सन् २०२२ मा एक करोड ५० लाख गरी दुई करोड ५० लाख डोज खोप किन्न सम्झौता गरेको समाचार संस्था एपीले जनाएको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले भविष्यमा आइपर्ने सङ्कटलाई ध्यान दिएर सम्झौता गरेको बताउनुभयो । मोडेर्नाले आफ्नो खोप अस्ट्रेलियामै उत्पादन गर्नेबारेमा पनि अस्ट्रेलिया सरकारसँग छलफल गरिरहेको छ । मोडेर्नाको खोप उपलब्ध भएपछि अस्ट्रेलियाका सबै वयस्क नागरिकले यसै वर्षको अन्त्यसम्ममा खोप पाइसक्ने छन् ।

अस्ट्रेलियाले यसअघि नै फाइजरबाट दुई करोड डोज र नोभाभाक्ससँग पाँच करोड १० लाख डोज खोप किन्न सम्झौता गरिसकेको छ । आफूलाई बढी भएको खोप अरू देशलाई अनुदानमा उपलब्ध गराउने प्रधानमन्त्री मोरिसनले बताउनुभएको एपीले जनाएको छ । अस्ट्रेलियाले कोरोना भाइरस नियन्त्रणमा तुलनात्मक रूपमा राम्रो सफलता प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू