अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१२ | Colorodo: 22:27

बहुमतको सरकार निर्माणको संभावना लगभग सकिएको कांग्रेस–माओवादीको निष्कर्ष

बिआरटीनेपाल २०७८ वैशाख ३० गते ८:०२ मा प्रकाशित

कांग्रेस र माओवादी बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दावी पेश नगर्ने निष्कर्षमा पुगेका छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो जानकारी गराएको नेता गणेश साहले जानकारी दिनुभयो । स्थायी कमिटी सदस्य साहका अनुसार कांग्रेस र माओवादी एमालेको झलनाथ खनाल र माधवुकमार नेपाल समूहले सहयोग नगर्ने निश्चित भएपछि कांग्रेस–माओवादी बहुमतको सरकार गठनका लागि दावी नगर्ने निष्कर्षमा पुगेका हुन् ।

सोमबार संसदमा विश्वासको मत नपाएसँगै केपी ओली प्रधानमन्त्रीबाट पदमुक्त भएपछि राष्ट्रपतिले संविधान धारा ७६ (२) अनुसार तीन दिनको समय दिएर विहीवार राती ९ बजेसम्म गठबन्धन सरकारको लागि आव्हान गर्नुभएको थियो । कांग्रेस पदाधिकारी बैठकपछि बोल्दै सहमहामन्त्री प्रकाशशरण महतले पनि बहुमतको सरकार बनाउन नसकिने निष्कर्षमा पुगेको बताउनुभयो । बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै महतले उपेन्द्र यादव तयार रहेपनि महन्थ ठाकुर राजेन्द्र महतोले बहुमतको सरकारमा सहभागी नहुने र समर्थन पनि नगर्ने भनेको र माधव नेपाल पक्षको पनि निर्णय नआएको बताउनुभयो ।

विपक्षी गठबन्धनले सरकार गठनको दावी नगर्ने भएपछि एमालेसँग अब सरकार गठनका लागि दुई विकल्प आएका छन् । जसपाको ठाकुर र महतो समूहको समर्थनमा ओलीले बहुमतको सरकारका लागि दावी पेश गर्ने सम्भावना पनि छ । यसो भएन भने ७६ (३) अनुसार ओली संसदमा ठूलो दलको हैसियतमा अल्पमतको सरकारको प्रधानमन्त्री बन्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू