अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

एनआरएनए अमेरिका उम्मेदवार:अन्तिम नामावलीमा ४१२ जना, १४४ निर्विरोध, विस्तृतमा

कृष्ण के. सी. २०७८ वैशाख २७ गते १६:२२ मा प्रकाशित

अमेरिका । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन आयोगले आज २०२१-२०२३ कार्यकालका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको छ।

निर्वाचन आयोगका प्रमुख बिश्वो बरालले दिएको जानकारी अनुसार यो पटक अन्तर्राष्ट्रिय परिषद् सदस्य ९ जनाको लागि २१ जना प्रतिस्पर्धी रहेका छन्। राष्ट्रिय समन्वय परिषद्को लागि १०४ जना र राज्य च्याप्टरमा २८७ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्।

आयोगको पहिलो लिस्टमा ४२५ जना उम्मेदवारहरू थिए। अध्यक्षका १ जना उम्मेदवार साल लम्सालको उम्मेदवारी दाबी परेकाले रद्द गरियो। दोस्रो लिस्टमा ४२४ जना उम्मेदवारहरू थिए। त्यसमा १२ जनाले उम्मेदवारी फिर्ता लिए र अब यो अन्तिम लिस्टमा मैदानमा ४१२ जना उम्मेदवरहरू बाँकी रहेका छन्। ४१२ उम्मेद्वारहरु मध्ये १४४ जना निर्विरोध भएका छन् भने २६८ जनाको लागि निर्वाचन हुनेछ।

अमेरिकाका ५० राज्यमा १०० या त्यो भन्दा माथि पञ्जीकृत सदस्य भएपछि राज्य च्याप्टर बन्ने वैधानिक व्यवस्था छ। यो पटक अमेरिकाको पञ्जीकृत सदस्य मध्ये मतदाता २०,१३९ जना छन्। अमेरिकाका ५० राज्य मध्ये २९ राज्यमा राज्य च्याप्टर नेतृत्व बन्ने भएको छ। त्यसमा २० राज्य च्याप्टर निर्विरोध भएका छन्। चुनाव हुने ९ राज्य च्याप्टरहरूमा क्रमशः क्यालिफोर्निया, कोलोराडो, न्यु योर्क, मासाचुसेट्स, मेरिल्यान्ड, नर्थ क्यारोलाइना, पेन्सलभेनिया, टेक्सस र केन्टकी रहेका छन्।

९ राज्य च्याप्टर मध्ये पनि ५ राज्यमा पुरै सेटको निर्वाचन हुनेछ भने ४ राज्यमा केही पदका लागि मात्र निर्वाचन हुने भएको छ। आंशिक निर्वाचन हुने राज्यहरूमा न्यु योर्क, मासाचुसेट्स, मेरिल्यान्ड र नर्थ क्यारोलाइना राज्य च्याप्टर रहेका छन्।

निर्वाचन आयोगको सूचना:
https://www.nrnusa.org/media/election_document/Notice-17-Notice_on_Final_Candidate_list_publication.pdf

उम्मेदवारहरूको नामावली हार्नको लागि यो तलको लिङ्क क्लिक गर्नुहोस्
https://www.nrnusa.org/media/election_document/Final_Candidate_List_-_Final-Publish.pdf