अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४२ | Colorodo: 14:57

“अनुराधा’ उपन्यासभित्र विजय मल्ल

युवराज मैनाली २०७८ वैशाख ११ गते १३:११ मा प्रकाशित

कला कलाको लागि वा जीवनको लागि ? खानु खानैको लागि हो वा जीवन बाँच्नको लागि ? अनि जीवन बाँच्नुको प्रयोजन आफूलाई सर्वश्रेष्ठ प्राणी सिद्ध गर्न गरिने यावत गतिविधि कै लागि होइनन् त ? कला कला नै हो । यसले जीवनका सीमा÷साँध नाघेर, वास्तविकताको धरातल छोडेर परपर निकै परसम्म विचरण गर्दछ । कलाले स्वत्वको पहिचान अनि स्वतन्त्र अस्तित्वका खातिर अनेक अनेक रङ्गहरू भर्दछ अनि नवीन स्वरूपका उत्पादन पनि गर्दछ । कलालाई जीवनसँग कुनै लिनु दिनु छैन भन्ने भनाइ पनि छ । प्रकृतिको कलाकारितालाई नकार्न सकिँदैन । हुन त प्रकृति पनि जीवनको तारतम्य नै हो । अझ भन्ने हो भने त जीवन अस्तित्वको मुख्य धार नै प्रकृति हो । प्रकृतिको कलाकारिताकै प्रभावमा जीवनले अनुकूलताका अनेक पाठ पढेर आफूलाई सोही रूपमा ढालेको देखिन्छ । प्रकृतिको कलात्मक उभारबाट प्रभावित जीवनले स्वको सौन्दर्यदेखि आवश्यकताका अनेकौँ कलापूर्ण आवहवाहरू सोचेर आफ्ना आचरण र व्यवहारमा ढालेको छ । क्षमता अनुसारको सृजनात्मक स्वब्रह्म साँचेको छ र सृजनाका अन्तहीन फाँटमा चहारेको छ । यो चहार्नुको क्षमता अनि एकाग्रता जो कोहीका निम्ति सम्भव छैन । यो क्षमता, यो विशेषता थोरैमा सीमित रहेको छ यसैले यस्ता शिल्पीलाई ईश्वरीय वरदानको उपमा दिइएको होला ।

तार होस् वा बेतार सञ्चारको जालो आज विज्ञानको छेलोखेलोमा छरिँदा एक ढिक्का बनेको छ । अवलोकन–अध्ययन मात्र होइन प्रतिस्पर्धाका छाँट पनि निकै नै परिवर्तित अवस्थामा आइसकेको छ । जीवनको मूल्य र मान्यता झन् टड्कारो रूपमा देखा परिरहेको छ । कला शून्यमा उम्रँदैन । कलाको माध्यम त जीवन नै हो । कला निरपेक्ष सत्य र यथार्थबाट टाढा रहन सक्दैन । पृथक् उडान भरेर पनि सत्यकै धरातल उसलाई चाहिन्छ । कलाकारको के काम कलामा राखिने चीज नै शून्य रहे । कलाकारको सृजनालाई यथार्थको धरती चाहिन्छ नै । उदाहरण स्वरूप भन्ने हो भने एउटा सिङ्गै द्वीप सर्जकलाई देओस् र उसको निम्ति अरू सबै कुरा पुर्याइयोस् तर एक्लो बाहेक अरू कोही सङ्गीको साथ नहोओस् । त्यो द्वीपमा ऊ एक्लो जन्मेर, एक्लै मर्नुपर्छ…… भनेर ऊ सृजना गरिरहन सक्दछ ? त्यस अवस्थामा उसको मात्र कला कस्तो होला ? कसको लागि र कुन प्रकारको होला ? आबद्धताको एक अर्काको परिपूरकता वा सम्बद्धताको प्राकृतिक स्वरूपलाई नकारेर मात्र भौतिक परितुष्टिमा सहाराको फाँटमा चहार्नु र भ्रमित हुनुभित्रको उपलब्धि केवल भोकालाई भाषण मात्र हुन पुग्दैन र ?

मानवीय प्रवृत्ति शुष्कता र बन्द परिवेशमा रमाउने खालको अवश्य हुँदैन । “अहं ब्रह्मास्मि” को नाद जतिसुकै चर्को स्वरमा चर्काओस् त्यो आवाजले ऊ स्वयम् आफैँलाई अलग्याउँदछ । यस्तै कला तुष्टिको कलाकारिता आकाशका बादलसरि बन्न सक्छ । जुनसुकै कुराको सन्तुलन पारस्परिक आदान प्रदान अनि सम्मिश्रणको समायोजन सहितको वातावरण रुचिप्रद र ग्रहणयोग्य हुन पुग्दछ । मलाई विशेष रङ्ग मन पर्छ त्यै रगमा मात्र म यावत प्रयोगहरूमा डुबे भने म आफैँ त्यै रङबाट बेरङ हुन पुग्दछु । स्वभावतः मान्छेभित्रका आचरण विद्रोहमय छ । एउटै परिवेश एउटै परिस्थिति र एउटै सेरोफेरोमा अडकिएर ऊ रहन सक्दैन । यतिसम्म कि उसले खाने खाना, पहिरिने लुगासम्मको छनौट यही आचरणको दसी हो ।

वस्तुतः क्रमको क्रमिकतामा मानवीय दम्भको पराकाष्ठामा हुँकार निस्कन्छ । यो हुँकारको लागि पनि एउटा आडको आवश्यकता पर्दछ । शक्तिलाई कुनै माध्यम अनि भर आवश्यक पर्दछ तवमात्र शक्तिले आफ्नो प्रभाव छोड्न सक्दछ । स्वभाव स्वत्वको लागि स्वबाहेक अरूको स्वाहाका लागिको दम्भ टड्कारो अन्त नगएर आफ्नै सेरोफेरोमा उजागर हुन्छ । यसैलाई उजिल्याउँदै हाम्रा स्रष्टा सागर चहार्दा–चहार्दै पनि आफ्नै कञ्चन जल प्रवाहमा असला टिप्न पुग्दछन् । विश्वव्यापीकरणको दूषित वातावरणलाई फोड्दै आफ्नै परिवेशमा जलकुम्भीहरू फाँड्दै स्वसंस्कारको सहज वातावरणमा समाजलाई जोगाउँछन् । यही प्रवृत्ति प्रकृति उन्मुख देखिन्छ । यही प्रवृत्तिका कारण जग जड् नभईकन परिवर्तनशील बनेको छ । परिवर्तन त चैतन्यको प्रतीक हो । प्रगतिको सूचक हो । परिवर्तनको बहाव वा गतिको परिसूचक सङ्केत पनि कलाले दिन सक्दछ । प्रकृति सर्जकलाई यो क्षमता पनि प्रदान गरेको हुन्छ । हुन त कलाको मुख्य पहिचान सौन्दर्य सोपान हो । सौन्दर्यले मन आकर्षण गर्दछ । हृदयलाई तृप्त पार्दछ । सम्मोहनमा संसार लोभिन्छ । यस अर्थमा कला एकोहोरो अनि आत्मतृप्तिको साधन मात्र भन्ने बुझिन्छ । अनि यसका सर्जक मात्र स्ववृत्तमा संसारका अन्य यावत कुराहरूबाट विच्छेद रहेर स्वान्त सुखायमा रम्ने रमन्ता जोगी मात्र हुन्छन् तर हैन जीवनका यावत गतिविधि अनि प्रकृति ब्रह्माण्ड समेत सूक्ष्मतापूर्वकको अवलोकनको सामर्थ्य राखेर त्यसलाई सुपाच्य र सुमधुर तवरबाट प्रस्तुत गर्नु अनि समयको माग अनुसार मस्तिष्कलाई उद्यत गराउन उपमेय प्रस्तुतिहरूद्वारा आफ्नो क्षमता उजिल्याउनु — जो जोसुकैबाट हुन सक्दैन । मनोरम एवम् आकर्षक ढङ्गबाट अवलोकनलाई तान्नु नै कलाको मर्म अनि कलाकारको कर्म हो भन्ने लाग्दछ ।

खेत खन्नु, खन्नुको लागि भनेझै खनेर डल्लो नफूटाएर बिउ—विजन र मल नहालेर बाला झुल्ने भए कला कलाकालागि भन्ने कुरा सार्थक मान्न सकिन्छ । प्रथमतः प्रकृतिले हामीलाई धेरै धेरै कुराहरू दियो जसमा कुनै कुरा खाद्य थिए कुनै अखाद्य थिए अखाद्यमा पनि यस्तो कुरा समावेश भयो कि अखाद्यको विषाक्तलाई पन्छाएर उचित वस्तुको छनौट नै मानवीय बाध्यता थियो र यसै बाध्यताको छनौट कलापूर्ण प्रयोगको क्षमतामा मानव विकासको चरण शुभारम्भ भयो । यसबाट पनि थाहा हुन्छ । मानवीय सचेतता कला–जीवन प्रारम्भ हुन अनि जीवन अड्याउन सक्रियताका निम्ति पहिलो कार्य नै छनौटका सूक्ष्म कार्यबाट भयो । यो सूक्ष्म कार्य नै कलाको आह्वान स्वरूपमा भएको छ ।

सम्पूर्णमा जगत् कलामय छ, जीवन कलाले ओतप्रोत छ । विशेष कौशल अर्थात् जीवनका कुशल उत्पादन वा सिर्जना नै कला हो । सौन्दर्य भावना र सौन्दर्य रहस्यको विकासका साथसाथै कलाका काईहरू घिस्रिँदै गए र उन्नाइसौँ शताब्दीमा आएर कला कलाको लागि सिद्धान्त मानिसले पक्रेपछि उपयोगिता र ललितकलाको खण्डीकरण पश्चात् साहित्य पनि ललितकला हो भन्नेमा विचार हुन थाल्यो । वास्तवमा शिल्प सम्प्रेषण आदिका अङ्गहरूको अवलोकन गर्दा कलाकै प्रदेशभित्र यसको महक उठ्दछ ।

नेपाली साहित्यको परिवेशमा विचार गर्दा आख्यान लेखन मौलिक रूपमा थालनी भएको कुरालाई नयाँ नै मान्न सकिन्छ । “नेपाली प्रारम्भकालीन आख्यान उपाख्यानहरूको उद्गम मुख्य गरी दुई स्रोत भएको छ । धार्मिक लोककथा यसैबाट प्रेरित, प्रोत्साहित भई स्वयं दृष्टिको लागि धार्मिक आस्थामा अवलम्बित बुजु्रकहरूको ध्यान यता गएको हुन सक्दछ । निश्चय पनि नैतिकता र समयसापेक्ष मागको आपूर्तिबाट यस कालखण्डमा आख्यान साहित्यको जग तयार हुँदै गयो । त्यसपछि अर्कोधार लोक परम्परा अनुदित स्वरूपमा हुँदाहुँदै चेतनतत्वको सेरोफेरोमा रुद्रराज पाण्डेको रूपमती (१९९१) ले नयाँ फाँट चहार्न पुग्यो । त्यसभित्रको सामाजिक दर्पणलाई धेरै समयसम्म तोड्न खोजेर पनि तोडिएन । बरु यसै परिधिभित्र मनोविज्ञानका साथसाथै विभिन्न वादका सेरोफेरो र समय–आवाजको ध्वनित रूपमा नवीन–नवीनतम विषयगत आख्यान साहित्य अर्थात् औपन्यासिक स्वरूप पस्कने कार्यहरू भए । यस नवीनतालाई स्वीकार्य स्वरूपमा सञ्चारको अत्यधिक प्रभावका कारण साहित्यिक छापा माध्यमहरूको दुर्विनका गन्ति गन्न थालिएको बेलामा पनि केही उपन्यासहरूले संस्करणका संस्करण वातावरण पाउन सके । अन्य विवेचनाका विषयवस्तु जेसुकै फरक वा सीमिततामा थरथरीका दृष्टिकोण प्रस्तुत गर्न सकिए तापनि अन्ततः स्वच्छन्दतावादी धारमा आजसम्मको औपन्यासिक धरातल कायम रहेको मान्न सकिन्छ । यसैको आधारशिलामा ‘अमूर्त तत्वहरूको अध्ययन र विश्लेषणका माध्यमबाट मूर्त वस्तु र कार्यात्मक रूप उद्घाटन गर्ने विज्ञानको रूपमा मनोविज्ञानलार्ई मानिन्छ । मान्छेको अन्तर्मनका अपरिभाष्य र अदृश्य अनेकतम पत्रहरू, कोण र तहहरूमा सुषुप्त अवस्थामा रहेका अतृप्त र संवेगजन्य उत्सुकताका अभिप्साहरूको प्रस्तुति …क्रममा यस विज्ञानले आपूmलाई समर्पित गरेको छ । यही पथका पथगामी हुन् उपन्यासकारहरू लैनसिंह वाङ्देल, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, दौलतविक्रम विष्ट, तारिणीप्रसाद कोइराला गोविन्दबहादुर मल्ल गोठाले, इन्द्रबहादुर राई, पारिजात, ध्रुवचन्द्र गौतम, परशु प्रधान आदि हुन् ।

यस प्रसङ्गमा यहाँ उपन्यासकार विजय मल्ल औपन्यासिकताको चर्चा गर्न खोजिएको छ । विजय मल्लका हालसम्म छापिएका दुई उपन्यास छन्– ‘अनुराधा’ अनि ‘कुमारी शोभा’ । अघिल्लो उपन्यास ‘अनुराधा’को तुलनामा अर्को उपन्यास ‘कुमारी शोभा’ त्यति सशक्त देखिँदैन । विजय मल्ल फ्रायडीय दायित्व बोकेका मध्ये मानिन्छन् । तर पनि उनको लेखन केन्द्र विन्दुतर्फ मोडिँदा स्वपरिवेशका समायोजन गर्ने कला यति आच्छादित रहेको पाइन्छ कि उनको अन्तर्मन स्वमा लिप्त रहेर पहिचान अनि परम्परागत आछन्न काला बादल पन्छाउने व्यग्रता रहेको भेटिन्छ । आफ्नो पहिचानमा आफ्नै अडान अनि आफ्नै स्वपरिवेशमा आफ्नै दृष्टि बोधको अडानको धरातलभन्दा अन्य उडानको दुर्मोहमा फसेर यथार्थबाट भट्किने उनको अनिच्छा यसबाट प्रकट भएकै देखिन्छ । प्रयोगवादी शिल्पलाई मनोविज्ञानको परिधिमा समेटेर संयोजन गर्न सक्नु विजय मल्लको अर्को विशेष लेखन प्रवृत्ति मान्न सकिन्छ ।

अनुराधा नारी अहं अस्मिताको मनोवैज्ञानिक चरित्र–नायिका हुन् । नायिकाप्रधानताले नै यस उपन्यासको नाम ‘अनुराधा’ सार्थक रूपमा रहन पुगेको छ । नायक कोमलमान अनुराधाका प्रवक्ताका रूपमा उपन्यासमा ओरालिएका छन् । अनुराधा काठमाडौँको सम्पन्न परिवारमा हुर्किएका रूप–गुण सम्पन्न एउटी महत्त्वाकाङ्क्षी युवती हुन् जसको सेरोफेरोमा उपन्यास बगेको छ । प्रारब्ध वा कुसंस्कारको बलिवेदीमा उनी पर्सिन पुग्दछिन् । महत्त्वाकाङ्क्षी तथा अन्तर्मुखी अनुराधा स्वच्छन्द सहज आवहवामा उडिरहेकी पुतली कुनै सिकारीको जालमा परेझैँ नितान्त एक्ली बन्न पुग्छिन् । उनको विपद्मा अन्तर्मन फोएर बिसाउने कुनै ठाउँ हुँदैन । निःसहाय स्वाभिमान उनको घुँडा टेक्न पुग्छ । यहाँ आमा प्रतीक बनेकी छिन् गान्धारी संस्कृतिको समाजको पुतलीसरि भोगाइ व्यहोर्दै समय परिस्थिति समेतको अन्धोपनाको आवृत्तिमा अर्थ नै अद्योपान्त ऋचा उन्मुक्तिको नाममा संस्कारलाई लाद्ने प्रवृत्तिका परिचायक आमा अनि त्यसलाई हौसला प्रदान गर्ने दिदी आदि भनाउँदाको सञ्जाल । अभिजात्य माकुरी जालोको वातावरणको लेसोमय भूमि जहाँ पाइलो टेक्नासाथ टपक्क टाँसिइन्छ पाइला । मानौँ नारी जीवन एउटा झिङ्गेदाउ खेल हो । मह छर्किएकोमा झिँगा, कमिलाझैँ टाँसिइरहनुपर्छ, मूल्यविहीन मान्यताहरूमा । कथा सूत्रको मूल यही हो । यहीँबाट सोतो बग्दछ धारधारमा परिणति विच्छेदन भएर कतै नदी, खोला, अनि कतै सेतीका रूपमा बग्न पुग्दछ, बगिरहन्छ बगेको ठाउँ पानी पानी विहीन बने पनि शेष त्यसको रेखा (डोभ) रहिरहन्छ उजाड उजाड स्वरूपमा । हो, अनुराधा यस्तै यस्तै खाकामा बग्दछिन् ।

लघु स्वरूपको उपन्यास ‘अनुराधा’ माथि भनिएझैँ आफ्नो जातीय नेवारी समाजको सेरोफेरोको आख्यान रहेको छ गोठालेका भाइ विजय मल्ल आफ्नो दाजुको ‘पल्लो घरको झ्याल’ को दुई वर्षपछि निकालेको ‘अनुराधा’ लाई कोही समालोचकहरू यी दुई विपर्यास रहेको मान्दछन् जस्तैः…“पहिलो उपन्यास प्रारम्भमा अन्तर्मुखी छ र अन्ततिर बहिर्मुखी बन्दै गएको छ । अघिल्लोमा कारणबाट कार्यको स्थापना भएको छ भने दोस्रोमा कार्यबाट कारणको उद्घाटन गरिएको छ । निश्चय पनि ‘अनुराधा’, ‘पल्लो घरको झ्याल’भन्दा वाक्यविन्यास व्याकरणका नियमबाट केही कमजोरी प्रकट हुन पुगेको छ तापनि दुवै आख्यानमा समान छन् । गोठालेमा स्वभावतः परिपक्वता र गहिराइ अलिक गहिरिएको छ भने विजय मल्लमा केही सतहीपन देखा पर्दछ तर पनि कृष्णचन्द्रसिंह प्रधान भने “समसामयिक नेपाली उपन्यासको आधुनिक प्रवृत्तिलाई अनुराधाले सबैभन्दा पहिले चिनायो….” भन्छन् । यस्तै इन्द्रबहादुर राईको दृष्टिमा “सङ्घर्ष प्रवृत्ति मल्ल आपूmमा स्वभावनिहीत अनुभव गर्नुहुन्छ, त्यसरी लेखाइ जुधाइ हुन्छ । जुध्नैपर्ने मनोग्रस्तताले उहाँको बौद्धिकता, चेतनवार (पछिल्लो अनुराधा पछि अस्तित्ववादले थप हो उहाँमा) बुझ्न सक्छौँ ।

वस्तुतः ‘अनुराधा’ अनुराधा नै हो, एउटा नारीको समर्पण, त्याग, ममत्व अनि पुरुषको स्वार्थ, अहङ्कार र लिप्साका परम्परागत कथ्यलाई यसले तोड्न पुगेको छ । यस उसले पनि नवीनता यसले समेटेको छ । अनुराधाको आमा अनि दिदीहरू अनुराधालाई स्वस्वार्थको लागि रत्नमानजस्ता उमेर ढल्केका र छोराछोरीका बाबुरूपी भडखालोमा जाक्नुको अर्थलाई विश्लेषणका लागि खोजी पस्दा अनुराधा कान्छी छोरीप्रतिको विशेष माया र सुविधा नै हो भन्न सकिन्छ । उनको बाल्यकालदेखि नै बाबुसँगै कालिङ्पोङमा बसाइ र दार्जिलिङको उन्मुक्त वातावरणमा पढाई लेखाइले एउटी पत्नी (अनुराधाकी आमा) आफ्नो पति सामिप्यताको आहतका कारण उनी सम्झिन्छिन् अनि उनका दिदीहरू स्वभावतः नारीका इष्र्याजन्य विकास संस्कारगत रूपमा छँदै थियो । यसमाथि आपूmहरूले नपाएको सुविधा र माया अनुराधाले पाउँदा त्यो इष्र्या उम्लनु स्वाभाविक पनि थियो । मुख्यतः यिनै कारण पटक पटक छल गरी अनुराधाको स्वतन्त्रता अपहरण गर्ने, आफुहरूभन्दा तल पार्ने, कुत्सित् चालमा अनुराधाका घर लागिपरे । यसमा भिनाजुहरूको स्वार्थले पनि भूमिका खेलेको देखिन्छ नै ।

यहाँनिर आएर कृष्णचन्द्रसिंह प्रधानका वाक्यलाई उतार गर्न मन लागेको छ– उनी लेख्छन् “फ्रायडले प्रतिपादन गरेको कतिपय मनोविश्लेषणात्मक सिद्धान्तलाई अनुराधाको प्रवृत्तिले पुष्टि गर्दछ । उनको मनस्थिति केलाउने हो भने अनुराधामा देखिने प्रवृत्तिहरू, जटिलताहरू, फ्रायडले प्रतिपादन गरेका मूलवृत्ति अथवा अचेतन मन नै प्रमुख तत्त्व हुन् …लोग्नेसँग बस्न नपाउनुको एक मात्र कारण अनुराधालाई ठानेर आमाले छोरीलाई ‘प्यार खोसुवा’ सम्झी प्रतिद्वन्दिता गर्न थाली । यो बाहेक विद्वेषको सम्भावित कारण अर्को देखिँदैन । यहाँ कारण अर्कोमा एउटा मूलतः संस्कारजन्य प्रवृत्तिले भूमिका खेलेकी छैनन् र छोरीलाई पढाउनै हुन्न, पढाए पनि धेरै पढाए छाडा हुन्छे, यो हुन्छे, त्यो हुन्छे भन्ने समाजी कान फुकुवाहरूप्रति यहाँ नजरअन्दाज गर्न सकिन्छ त ? अर्को कुरा रत्नमान सिंहसँगको भिनाजु चाहिँको नाता, स्वयंवरको बेलामा भिनाजुहरूको बरोबर आवतजावत अनि स्वयं अनुराधाको यो भनाइ “… किनकि उनीहरूको ती पुरुष निकटसम्बन्धी थिए र साथै सुसम्पन्न धनाढ्य शक्तिशाली पनि थिए । जब कि उनीहरूको घरमा सधैँ छाकको समस्या परिरहन्छ …. ।” ले पनि कम भूमिका खेले होलान् र ? उपन्यासमा फ्रायडीय परिवेश नभएको होइनझैँ लाग्दछ । त्योभन्दा बढी मनोवैज्ञानिक परिवेश बढी छाएको देखिन्छ । अझ त उपन्यासभित्रका प्रत्येक पात्र एउटा न एउटा मनोविश्लेषणात्मक ग्रन्थीका रोगी छन् । आमाको अहम्, दिदी भिनाजुहरूको कम्प्लेक्स, समुद्रमान, रत्नमानदेखि कोमलमानसम्म र कोमलमानदेखि हरिसम्मको मनोगत पक्ष हेर्दा आ–आफ्नै प्रकारको मनोगत रोग दृष्टिगोचर हुन्छ । यो पनि ‘अनुराधा’भित्रको अर्को विशेषता हो । विकार वा विकृतिजन्य आचरण स्वयंको रोजाइ हुँदैन यो त परिस्थितिजन्य, वातावरणीय आवहवाहरूले वाध्यात्मक परिस्थितिहरूले ठाउँ ओगट्न लगाइन्छ । यो नै परिबन्द हो । यहाँ अनुराधा प्राकृत जीवनबाट विच्छेदित देखाइएको छ । संश्लेषित त न आमा दिदीहरू÷भिनाजुहरू न त कोमल, समुन्द्रमानहरू, रत्नमानदेखि हरि पनि आ–आफ्नै प्रकारले अप्राकृतिक चरित्र देखाउँदछन् । तिनकै मन मस्तिष्कको हुबहु चित्रण विजय मल्लले औपन्यासिकतामा उतारेका छन् ।

“कमजोर, दुर्बलहरू हीनताबोधले किचिएकाहरू अनौठो ढङ्गबाट आफुलाई बलवान् साबित गर्न बस्दछन् जो तिनीहरू छैनन्, त्यही देखाउने प्रयास गर्दछन् ।” (पृष्ठ ९० तेस्रो लहर) हीन ग्रन्थिको सिकार आमा अत्यन्त कठोर, रिसाहा, हठी, अभिमानी थिई जसको रक्त प्रभाव अनुराधामा व्याप्त थियो । (पृष्ठ ८३) । “ए त्यो मीम साहेबलाई बोला न, घिच्न आ भन् न । के त्यसको होटेल हो, मीम साहेब सुकुला ।’ त्यस्तालाई मीमनी बनाउन पठाइएको कुन साइतमा मैले पाइछु ।’ अब त्यसको निम्ति म जेल गइरहुँला, मीमनी नै जाओस् न मीमनी । सानी दिदी र आमाका यी वाक्यबाट पनि ग्रन्थि विकार सहज पैलिन्छ । कोमलमान एउटा सुषुप्त विद्रोहमा विथोलिएको मान्छेको रूपमा देखा परेको छ । उसको विद्रोहको कारण आफ्नो अन्तर्मनले आदर, श्रद्धा, माया गरेको/पाएको आमाको मृत्युमा अवसादीकरणबाट पलायनतर्फ डोरिएको छ । उनका दाजुहरू उनलाई गृहस्थ बनाउन चाहन्छन् । आफ्नो जिम्मेवारी पूरा गर्न उद्यत रहेका देखिन्छन् । उपन्यासमा उल्लेख नभईकन यो स्पष्ट बुझिन्छ तर उसको विद्रोहले ऊ सिमरामा एकान्त जीवन अँगाल्न पुग्दछे । त्यसको असर हरिमा पनि पर्दछ । हरि जो तिनका घरमा काम गर्ने केटो हो । ऊ कल्पिन्छ आफ्नो जन्मथलो काठमाडौँका लागि तर ऊ बाध्य छ कोमलमानलाई छोड्न उसको आत्माले दिँदैन । रत्नमान एउटा इगोको पिण्ड हो, तृष्णाको जालोमा बेरिएर कोमल अनुराधाको रूपमा हीरामोती, सुनचाँदीमा कैद गर्न उद्यत छ शक्ति र दामको दम्भमा सबै कुरा सम्भव छ भन्ने धारणामा ऊ रहेको हुन्छ तर अनुराधाको बेग्लै प्रकारको असामान्य चित्त प्रवृत्तिले रत्नमानको इगोलाई मृगतृष्णामा अड्काइदियो । अनुराधा परम्परागत प्रवृत्त नारीको परिवर्तित विद्रोहको प्रतीक हुन् । हो उनको विद्रोहको शैली जम्न सकेको छैन । यो जम्न नदिनुमा उपन्यासकारकै स्वार्थ खडा भएको हो कि ? यी सबै औपन्यासिक घटनाक्रम मात्र अनुराधा पात्रमाथि एकोहोरो आँखा गडाइचाहिँ अतिशयोक्ति नै लाग्दछ ।

‘अनुराधा’ उपन्यास कोमलमानको आत्मकथनबाट सुरु अनि अन्त्य पनि गरिएको छ । ‘म उनको सपना पूरा गर्नको खातिर जीवनभर यस्तै रितले पर्खन सक्छु, अनन्तकालसम्म’ को उद्गारका साथ । उपन्यासको केन्द्रबिन्दु उपत्यका हो तर पनि उपन्यासमा नेवार समाजसँग विभिन्न प्रकारले आबद्ध भारतका विभिन्न ठाउँहरूजस्तै दार्जिलिङ, कालिम्पोङ आदिदेखि ल्हासासम्म अनि तराई, भित्री मधेसका फाँटहरूसम्म चाहारेका छन् । सम्पन्न परिवारको कोमलमान पनि पढ्न भारत बसेको बेलामा आमाको देहावसान हुन पुग्दछ । यसबाट ऊ बिरक्तिन्छ । सानैमा पितृ स्नेहबाट वञ्चित ऊ आमाको हेरचाह र मायामा हुर्केको आफ्नो पढाइ छोडेर काठमाडौँ नआई सिमरा वीरगन्ज बिचको आफ्नो जग्गाको हेरचाहको बहानामा त्यहीँ बसिदिन्छ । काठमाडौँबाट दाजु–भाउजूले घर आउन बोलाउँदा पनि काठमाडौँ फर्कने मनस्थितिमा ऊ पुग्दैन र बाध्य भएर दाजु–भाउजूले उसको निम्ति घरमा काम गर्ने हरिलाई उसको रेखदेखका निमित्त पठाइदिन्छन् । यसरी स्वदमनमा लागिपरेका कोमलमान रेल्वेस्टेशन गएको बेलामा एउटा अप्रत्याशित घटना घटिदिन्छ । रेलबाट एउटी नारी बेहोसी अवस्थामा ओरालिन्छन् जो नितान्त एक्ली हुन्छिन् । तिनलाई लिएर कोमलमान आफ्नो घरमा ल्याई पु¥याउँछ । हरिको स्याहारले नारीको होस् खुल्दछ । होस खुलेपछि कोमलमानसामु आफ्नो परिचय दिएर आफुलाई चाहिने औषधि आफैँसँग रहेको र त्यसमध्येको सुई र चक्की प्रयोग गर्न अर्हाउँछिन् । उल्लेखित नारी अनुराधा नै हुन्छिन् । अनुराधालाई मानसिक रोगको कारण यस्तो भएको हो भन्ने कुरा कोमलमानले थाहा पाउँदछ ।

औषधिको प्रयोगपश्चात् केही समयपछि स्वस्थ बनेकी अनुराधाले कालिम्पोङमा पुगेर काठमाडौँ फर्किँदा यस्तो भएको र यस्तो हुन नदिन आपूmले औषधि सँगै बोकी हिँड्नु परेको बताउँछिन् । भोलिपल्ट आफ्नो गन्तव्यमा लाग्ने अठोटमा अमलेखगन्जसम्मको यात्राको चाँजो मिलाइदिन अनुरोध अनुसार चाँजो मिलाइन्छ । औषधि खाएर सुतेकी अनुराधा भोलिपल्ट बिहान अबेर उठ्छे र आपूmलाई अस्वस्थ महसुस गर्दछे र टिकट क्यान्सिल गर्न भन्छे तर कोमलमान स्टेसन पुगेर पनि टिकट क्यान्सिल गराउन सक्दैनन् । अनुराधाको रूप र सौन्दर्यबाट कोमलमान यतिखेर झुक्न थालेको देखिन्छ । केही आराम गरी बरु प्लेनबाटै काठमाडौँ पुग्ने अठोट गर्दछिन् उनी । कोमलमान र अनुराधाको सेरोफेरो घुमघाम हुन पुग्दछ । अनुराधा नसोधीकनै पनि आफ्नो पूर्व कथाहरू खोल्दै जान्छिन् । कालिम्पोङको पढाइ पछि उच्च शिक्षाको लागि लखनौ पुगेकी अनुराधालाई आमा सा¥है छिन् भन्ने खबर आउँदछ । त्यस बेला उनका बाबु ल्हासामा रहेका हुन्छन् । वास्तविकतामा बिरामीको वहानामात्र गरिएको र षड्यन्त्रमूलक ढङ्गले छोराछोरी र सौता स्वरूपमा गुह्येश्वरीमा स्वयंवरको नाटक रचिँदै थियो । त्यहीँ उनले त्यो कुरा थाहा पाइन् । त्यसपछि अनुराधा आवेगमा माला चुँडाएर फाल्न पुग्छिन् ।

त्यसपछि अनुराधा आफुमा रहन्नन् । आफ्नै घर पनि आफ्नो रहेको हुन्न । दिदीहरू आमासहित भएर उनलाई प्रताडना दिन थालेका हुन्छन् । बाहिर षड्यन्त्रकारीहरू सबै मिलेर नभएको विवाह भइसक्यो आदि आदिमा थप कुरा गाँसेर प्रेम विवाहको समेत हल्ला चलाइन्छ । आपूm घरमा पनि टिक्न नसक्ने भएपछि बदलाको आगोले धपक्क बलेकी रत्नमानमाथि हत्याद्वारा बदला लिन रत्नमानकै घरमा पुग्दछे तर उनीबाट हत्या हुन सक्दैन उल्टै आफु परिबन्दको घेरामा पर्दछिन् । त्यसपछि अनुराधाको मनमा अर्को योजना पलाउँछ जसको माध्यम उनले रत्नमानको भाइ समुन्द्रमानलाई बनाउँछिन् । समुन्द्रमानसँग बढी हिमचिम र गफगाफ गरेर रत्नमानको पुरुष अहंलाई चोट पुर्याउँछिन् । दाजुको आँखाको कसिङ्गर बनेका समुन्द्रमानको पलायन विराटनगरको जग्गामा हुन पुग्दछ । अब उनको वस्नुको प्रयोजन समाप्त हुन पुग्छ अनि अनुराधा पनि बहुलाउन पुगिन् । उनको अचेत अवस्थामा रत्नमानले उनलाई भारतमा औषधि गराउन लग्छन् । त्यहाँ डाक्टरहरूको सल्लाहअनुसार केही महिना औषधि गरेर काठमाडौँ उनलाई ल्याउँछन् तर आँखाले देख्न छोडियो त्यसको पनि उपचार गरियो तर मनको उपचार हुन सकेन । त्यसपछि बुबा ल्हासाबाट फर्केपछि आफ्नो माइतमा पस्दैनपसी बुबासँगै कालिम्पोङ पुग्छिन् । तर त्यहाँ वर्ष दिन बस्दा पनि प्रतिहिंसाको राग हट्नुको साटो बढ्दै गएपछि बदलाको अस्त्र प्रयोग गर्न काठमाडौँतर्फ लाग्दालाग्दै कोमलमानमा पुगेर कथाले विश्राम लिएको छ । बेहोसीमा कोमलमानको संरक्षणमा हुत्तिन पुगेकी अनुराधाप्रति त्यति बेलासम्म कोमलमान अनुराधामय बन्न पुग्दछन् । तर कोमलमानको अन्तर केलाउने अवस्था उनमा रहन पाउँदैन । त्यसरी नै रत्नमानसँग बदला लिने कुरा पनि । तर अनुराधाले थाहै नपाई कोमलमान हदैसम्म उनीप्रति समर्पित बनिसकेको कुरा छ्याङ्ग पार्दै उपन्यास टुङ्गिन्छ ।

उपन्यासमा नायक नायिका दुवै पात्रको एक पक्ष समानान्तर पीडा बोधको समबोधिकरण देखिन्छ, त्यो के हो भने कोमलमानको मानसिक अवस्था आमासँगको विलगतासँगसँगै विछिन्न प्रायः बनेर पलायन हुने अवस्थामा रहेको छ भने अनुराधाको मानसिकता आमा र दिदी भिनाजुहरूको षड्यन्त्रपूर्ण व्यवहारबाट पिताको दूरित्वको खाडलमा आपूm जाकिन परेको अनुभूतिमा झन् विद्रोहमय परिस्थितिमा उभिन पुगेकी छिन् । कोमलमानबाट अनुराधाको समाख्यान गराएर उपन्यासकार स्वअस्तित्व र स्वप्रवाहलाई औपन्यासिक स्वरूप दिन सफल रहेका छन् ।

अचेतनावस्थामा आफुलाई स्याहार्ने कोमलमानप्रति तुरुन्तै विश्वास पलाउने चरित्र अनुराधाको हुनै सक्दैन तर पनि अन्तर पीडालाई फोइहाल्ने व्यग्रता अनि आरम्भमा नै पलाई हालेको मनोगत झुकावका कारण आफ्नो अतीत स्वतः प्रकाशन गर्न पुगेकी छिन् र उपन्यासको तारतम्य बनाएकी छिन् । पीडा आखिर पीडै हुन्छ, एउटा पीडागत मनोभाव अर्को पीडकले राम्ररी बुझ्दछ भन्ने सन्देश पनि यहाँ भेटिन्छ । यहँँनिर अर्को पक्ष पनि उजागर हुन पुग्छ कि स्वच्छन्द वातावरणमा हुर्केकी अनुराधामा पुरुषको साकार स्वरूपको विम्ब कोमलमानमा र कोमलमानभित्रको सुषुप्त नारी सानिध्य छवि अनुराधामा तृप्त हुन खोजेको छनक पनि मिल्दछ । रत्नमानप्रतिको प्रतिशोधात्मक ज्वालालाई समुद्रमानरूपी माध्यमबाट समन गर्न खोजेकी अनुराधा समुद्रमानको पलायनबाट झन् आहत बन्न पुगेकै बेला अनुराधाको अभीष्ट सायद पूरा हुन सक्थ्यो होला तर त्यसै बेला बाबुको पदार्पणले छेको लाग्न पुग्यो । उनको चरित्र निर्माणकै बेलामा आफुले चाहेको कुरा पूरा गर्ने वातावरण थियो । स्वच्छन्द विचरण स्वभावकी र शिक्षकहरू उनलाई होनहार केटाकेटीहरूमा अति सुन्दर अनि प्रिय मानेर काखकाखमा लिई म्वाई खाने, खेल्ने, खेलाउने आदिले गर्दा अरूभन्दा उनमा बेग्लै इगो कायम भैसकेको थियो । त्यस इगोले उनको महत्त्वाकाङ्क्षा बढाइएको थियो । कल्पनाशीलताको प्रभावले व्यवहारिकता कमजोर पार्दै लगेको थियो । यसैले त उनको सङ्घर्ष र विद्रोहले पूर्णता प्राप्त गर्न सकेन । तर समयले ठगेकी अनुराधालाई कोमलमानसम्म आइपुग्दा क्षमतालाई थेग्न वेर भइसकेको हुन्छ । यसरी उपन्यास अधुरो मानसिकतामा समाप्त हुन पुग्दछ ।

अनुराधाकी आमाको अचेतन मस्तिष्क सक्रिय रूपमा भित्रभित्रै अनुराधाका प्राप्तिमा कुण्ठित भएको देखिन्छ । एकातर्फ पतिको सानिध्यको अभाव अर्को पतिको अनुराधाप्रतिको अत्यधिक झुकाव र लाड प्यार अनि अनुराधाको रूप, सौन्दर्य, क्षमता, सुविधाको उपभोगले आमा मात्र होइन दिदी भिनाजुको मन पनि भरिन्छ । उनलाई पददलित पार्न सकियो भने स्वको उचाइ बढ्ने परिकल्पनाको परिणति नै षड्यन्त्रको तानाबाना हो । अनुराधा जब परिबन्दमा पर्छिन् तब जन्मदिनको निहुँ पारेर नयाँ नयाँ लुगाहरू बाँड्नु आमा दिदी, भाइ समेतलाई भोज खुवाउँदै उपहार प्रदान गर्न सानो भिनाजु खरदारबाट सुब्बा हुनु, आमाको मुटुको उपचार अमेरिकाबाट भर्खर आइपुगेका विशेषज्ञलाई जँचाउने बन्दोबस्तको घोषणाबाट रत्नमानसँग कसको के अपेक्षा रहेछ भन्ने बुझ्न सकिने नै कुरा भयो । यहाँ ऐले सैद्धान्तिक फ्रायडीय गणितलाई पर सारेर मनोविज्ञानको साधारण सामाजिक कसीमा घोट्दा पनि के देखिन्छ भने यसै दृष्टिकोणबाट अनुराधालाई हेर्दा तथाकथित अस्वीकार्य पति रत्नमानलाई आफ्नो अभीष्ट कहिले बन्न नसक्ने एउटा पुरुषको रूपमा ग्रहण गर्दछ र आफुप्रतिको षडयन्त्र बापत उनी गिद्ध दृष्टिको बदलामा निर्दोष अकिंचन समुद्रमानलाई आइमाई ल्याउन घिच्याएर निकालिदिने रक्सीले मातिइरहने, विक्षिप्त मनोदशामा खेलाउँदा खेलाउँदै पु¥याएको हुन्छ । यसैलाई आलोचकहरू फ्रायडीय आधारमा पितृ रति प्रणय ग्रन्थिको स्वरूपमा हेर्ने गरेका छन् । यसैको घाटा पूर्तिको स्वरूप यसलाई मानेका छन् । यसरी नै अनुराधाको मानसिकता कोमलमानसँगको सम्पर्कको छोटो अवधिमै अनुराधाको झुकाव बारम्बार टिकट क्यान्सिल गर्नु र आफ्नो भेउ फोड्नुबाट पुष्टि हुन्छ जुन कुरा जो माथि नै उल्लेख भइसकेको छ ।

के भन्न खोजिएको हो भने अनुराधाको अचेतन अहंको तुष्टि रतिरागात्मक उन्मादमा मुखर नभई आत्मरतिमा हुन पुगेको छ । आफु एउटा सुन्दर आकर्षक युवकका निमित्त सबैतिरबाट सक्षम भएको आत्मरतिमा रमेकी उनी रत्नमानजस्तो उमेर ढल्केको विपरीत सोचाइको व्यक्तित्व पतिको रूपमा उपस्थित हुन खोज्दा पीडित अन्तर्मन मुखर रहेर प्रतिशोधको बाटोमा अनुराधा लाग्दछिन् । नारीभित्रको पुरुष आकाङ्क्षाको स्वरूप त्यहाँ खण्डित–खण्डित हुन पुगेको छ । समुद्रमानमा रत्नमानको अभाव न्यून छ तर समुद्रमानभित्र पौरषीय आचरणको कमी छ । तर पनि केही अचेतनले स्वीकार्य केही तत्वसँग सम्झौता गर्न सकिने झुकाव समुद्रमानमा पाएर पनि छुरीबाट रत्नमानलाई भौतिक दण्ड दिने मानसिकता मानसिक दण्डमा नै बरालिन्छ । फ्रायडीय दृष्टिकोणलाई आधार मान्नेहरू रत्नमानमा पनि रहेको कुरा अचेतनले स्विकार्नु हो भन्ने धारणा राख्दछन् । एकातिर अनुराधाको मनमा आत्मविश्वास, अभिमान र प्रबल धारणा स्पूmरण शिक्षाको कारणवश उजेलिएको देखिन्छ भने अर्कोतिर संस्कार र स्वपरिधिका छेकबारको हेक्का पनि छ । यही द्वन्द्व–अन्तरद्वन्द्वले अनुराधाका स्नायुविकारजन्य टुसाहरू पलाउनुका कारण बनेको छ । अस्वीकृत पुरुष रत्नमान, प्रयोग पुरुष समुद्रमान र समर्पित पुरुष कोमलमान राग तुष्टिका अनुराधारूपी चेतन अवरुद्ध लक्ष्यमा भट्किएको छ । उनको अहं फुरिन्छ उनी छुरी समाउन पुग्दिछिन् । उनको राग तुष्टिको सम्भावित ढोका केही चर्चराउँछन् न छुरी उनको हातबाट खस्दछ, त्यो हिम्मतको अभाव दृढ इगोको सामञ्जस्यताको अभाव नै हो । यहाँनिर यो पनि हेक्का हुन जरुरी छ कि अनुराधा आफ्नो रूप र सौन्दर्यप्रति यति अभिमानी थिइन् कि त्यसले अहङ्कारको इगोले काम वृत्ति दमित पार्दै लगेको थियो । कुनै समवयस्क पुरुष पनि उनीबाट आकृष्ट भए तिनीहरू तिरस्कृत हुन पुग्थे । उनको अचेतन नैसर्गिक कामवासना दमित भएर आफै तिरस्कृत हुन पुग्थे । उनको यो स्वभावलाई सन्तुलित पार्न नसकेरै पनि होला उनी यत्रो षड्यन्त्रको सिकार भइन् । यहाँनिर विजय मल्लकै ‘कुमारी शोभा’का नायिका शोभामा कुमारी भई सकेकी केटी कसैसँग बिहे गरेर लोग्ने चाँडै मर्दछ भन्ने भयले प्रेमी उपेन्द्रसँग बिहे नगरी दमित, भ्रमित अवस्थामा रहिन् । यस्तै बि.पी.को ‘सुम्निमा’मा अझ गहन र सूक्ष्म तथा विश्लेषित इड र सुपर इगोको माथि रहेको छ ।

यस बाहेकका परिप्रेक्ष्यमा नेपालीमा मनोवैज्ञानिक तथा फ्रायडीयमा धरातलमा आधारित उपन्यास लेख्न थालेदेखि असामान्य मनस्थितिको अध्ययनतर्फ पनि दृष्टि पुर्याउन थालियो । यसमा बि.पी. कोइराला, भवानी भिक्षु, गोविन्दबहादुर मल्ल गोठाले र विजय मल्ल अग्रपङ्तिमा रहेका छन् । तर पनि विजय मल्लले दाजु गोठालेझैँ पक्रेको आफ्नै समाजको आफ्नै वरिपरिको परिवेशले भने सैद्धान्तिक पक्षमा जे जति कमजोरी रहे पनि व्यवहारिक एवम् यथार्थतलीय धरातलको सन्निकट रहेको अवलोकनकर्तालाई लाग्न पुग्दछ । विजय मल्लका मनोविश्लेषणमा अतिशयोक्ति कतै भेटिन्न । आफ्नै धरातलको पकड बलियो रहेको छ । यसैले पनि उनका उपन्यास उनकै नाटक कविताझैँ प्रवाहमय रहेका छन् ।

उपन्यासको नायक कोमलमानको मानसिक नारीसमीकरणीय अचेतनले वात्सल्यतादेखि प्रणयसम्म मनोद्वन्द्वमा शिथिल करणको अवस्था भेटिन्छ । यो शिथिल करणको पश्चात्तापबाट नै उपन्यासको अन्त्य गराइएको छ । ‘अनुराधा’ उपन्यासले मनोरचनाका अतिरिक्त अस्तित्ववादको स्वरूप पनि अँगालेको छ । उपन्यासको सुरुमै अनुराधामा यो विम्ब प्रकट हुन पुगेको छ । यसैको परिणति नै उनको सङ्घर्ष र विच्छेदन हो । फेरि यहाँ कोमलमान शून्यवादका प्रतीक बनेर उभिएका छन् । यी बाहेक छोटकरीमा उपन्यासभित्रका कमीकमजोरीलाई यसरी कोट्याउन सकिन्छ–

‘अनुराधा’ उपन्यासका विविध पक्ष मध्ये एउटा नारीवादी चिन्तन पनि हो । मात्र नारी स्वाभिमानको एकतर्फी कुरा उठाएर त्यसलाई पनि असफल पारेका छन् उपन्यासकारले ।

अनुराधाभित्र फ्रायडीय आधारको प्रचुरतामा अनि मनोवैज्ञानिक प्रवृत्तिको सशक्त स्वरूप यहाँ विद्यमान देखिन्छ । त्यही अस्तित्व र विसङ्गतिवादी प्रवृक्तिको धर्मराउँदो कमजोर सतह देखा पर्दछ ।

उपन्यासमा विक्षिप्ततावस्थाको अनुराधाबाट व्याख्या र विश्लेषण कार्य जुन गराइएको छ, त्यो सुपाच्य देखिँदैन । यसबाहेक अनुराधा उपन्यासमा विजय मल्लको काव्यात्मक, रागात्मक सम्बन्धन पाइन्छ । अनुराग उब्जिएको देखिन्छ । तर पनि एउटा लघु उपन्यासमा माथि उल्लेखित सबै विषयवस्तु कोच्ने कामले उपन्यास केही फिक्का प्रतीत हुन्छ ।


सन्दर्भग्रन्थ:
१.नेपाली उपन्यासका आधारहरू–इन्द्रबहादुर राई, नेपाली साहित्य परिषद्, दार्जिलिङ, २०३१ ।
२.नेपाली उपन्यास र उपन्यासकार–प्रधान कृष्णचन्द्रसिंह, तेस्रो संशोधन, २०५२ साझा प्रकाशन, काठमाडौँ ।
३.नेपाली उपन्यासको इतिहास–डा.खगेन्द्रप्रसाद लुइँटेल, नेपाल प्रज्ञा प्रतिष्ठान, २०६९ ।
४.नेपाली उपन्यास परम्परा र प्रवृत्ति–सुवेदी राजेन्द्रप्रसाद, दोस्रो संस्करण २०६४, साझा प्रकाशन, काठमाडौँ ।
५.केही प्रतिभा, केही प्रवृत्ति–मैनाली युवराज, भानु प्रकाशन २०४२ ।