अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न सकिँदैन -अर्थमन्त्री पौडेल

बिआरटीनेपाल २०७७ चैत २५ गते ८:०० मा प्रकाशित

अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताउनुभएको छ । बुधवार नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थ मन्त्री पौडेलले यस पटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताउनुभएको हो ।

कोभिड–१९ का कारण सिर्जित समस्या र बजेटको स्रोतको सीमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले बजेटमा समावेश गर्नुपर्ने विषयमा अनेरास्ववियुले दिएको सुझाव अत्यन्तै महत्त्वपूर्ण भए पनि बजेटको स्रोत हेरेर निर्माण गर्नुपर्दा समस्या रहेको बताउनुभयो ।

कोभिडका कारण खुम्चिएको राजस्व, अन्तर्राष्ट्रिय सहयोग परिचालन र आन्तरिक ऋणको परिधिभित्रै रहेर बजेटको स्रोत निर्माण गरिने पनि प्रष्ट पार्नुभयो । त्यसैले यस पटक मन खुलाएर, हात फैलाएर बजेट निर्माण गर्ने नभइ खुम्चिएर निर्माण गर्नुपर्ने परिस्थिति रहेको अर्थ मन्त्री पौडेलले बताउनुभयो ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरसहितका विद्यार्थी नेताहरूले आउँदो वर्षको बजेटमा शिक्षा क्षेत्रका लागि कम्तीमा २० प्रतिशत बजेट छुट्याउन माग गरेका छन् । शैक्षिक प्रमाणपत्रको आधारमा शैक्षिक र व्यावसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजान र बैंकका प्रत्येक शाखाले न्यूनतम २० जना विद्यार्थीलाई प्रमाणपत्र धितोमा ऋण उपलब्ध गराउने व्यवस्था गर्न माग गरेका छन् ।

यस्तै सरकारी सेवा, सुविधा र जागिरमा रहनेका छोराछोरीलाई अनिवार्य सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन पनि अनेरास्ववियुले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू