अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१८ | Colorodo: 14:33

नागरिकलाई सडकमा उत्रन नेकपा अध्यक्षद्धय प्रचण्ड र नेपालको अपील

बिआरटीनेपाल २०७७ माघ ५ गते ५:५६ मा प्रकाशित

नेकपाको प्रचण्ड –नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपालले संविधानको रक्षाका लागि सडक संघर्षमा उत्रिन आम नागरिकलाई अपील गर्नुभएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्षद्वयले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटनको कदमले गणतन्त्र र संविधान नै धरापमा परेको आरोप लगाउनुभएको छ ।

उहाँहरुले लेख्नुभएको छ, ‘तत्कालीन अवस्थामा पार्टी अध्यक्ष र प्रधानमन्त्रीसमेत रहेका केपी ओलीद्वारा चालिएको असंवैधानिक कदमले संविधानको मूल मर्म र भावनामा प्रहार गरेको छ । अहिले यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्च अदालतले संविधानको अक्षर, मूल मर्म र भावनालाई गहिरोसँग आत्मसात गरी संविधानसम्मत फैसला नगरेसम्म नेपालको संविधान कार्यान्वयनमा अवरोध उत्पन्न भएको अवस्था छ ।’

प्रधानमन्त्रीको प्रतिगामी कदमले आन्दोलनका समस्त उपलब्धी समाप्त हुने दिशातर्फ अघि बढेको भन्दै दाहाल–नेपालले संविधान र लोकतन्त्रको पक्षमा दृढतापूर्वक सडकमा उत्रन अपील गर्नुभएको हो । देशमा क्रमशः स्थापित हुँदै गएको स्थिरता, शान्ति र लोकतन्त्रको जगमै प्रहार गर्ने तथा नागरिकका मौलिक हक समाप्त पार्ने गरी प्रतिनिधिसभा विघटनको घोषणा गरिएको भन्दै उहाँहरुले त्यसको प्रतिरोध गर्न आब्हान गर्नुभएको हो ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमलाई परास्त गरेर मात्र देशको लोकतन्त्र जोगिने छ, राष्ट्रियता बलियो हुनेछ । त्यसैले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्रलाई पराजित गर्न र प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अभियानलाई साथ दिन आम नेपाली समक्ष हाम्रो हार्दिक अनुरोध छ ।’– बिज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू