अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

तोकिएको समयमा आयकर बुझाउन ताकेता

बिआरटीनेपाल २०७७ पुष २८ गते ६:१६ मा प्रकाशित

सरकारले तोकिएकै समयमा आयकर बुझाउन करदातालाई अनुरोध गरेको छ । कोभिड -१९ को महामारीका कारण व्यापार व्यवसायले अझै पनि गति लिन नसकेको भन्दै व्यवसायिक संघ/संस्थाले आयकर बुझाउने म्याद थप्न माग गरिरहँदा सरकारले आयकर बुझाउन ताकेता गरेको हो ।

व्यवसायीले समय थप्न अनुरोध गरे पनि सरकारले आयकरको किस्ता बुझाउने समय पुस मसान्तसम्म अनिवार्य बुझाउन ताकेता गरेको छ । आन्तरिक राजस्व विभागले आयकर ऐन अनुसार आर्थिक वर्ष २०७७ ७८ को आयकरको किस्ता रकम बुझाउने करदातालाई कारोबारको अनुमानित करको विवरण र विवरणअनुसार बुझाउनु पर्ने पहिलो किस्ता वापतको ४० प्रतिशतले हुन आउने कर पुस मसान्तभित्रै बुझाउन सूचित गरेको हो ।

सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पुगेर पुस मसान्तभित्रै ठूला करदाता कार्यालय / मध्यमस्तरीय करदाता कार्यालयमा कर बुझाउन ताकेता गरिएको छ। तोकिएको समयमा कर नबुझाए ऐनअनुसार जरिवाना, शूल्क तथा ब्याज लाग्ने जनाइएको छ । उद्योग/वाणिज्यसँग सम्बन्धित संघ/संस्थाका प्रतिनिधिले अर्थमन्त्रीलाई भेटेर आयकरको किस्ता बुझाउने समयमा सहुलियत दिन माग गरे पनि सरकारले भने उद्योग धन्दा निर्वाध सूचारु भएको भन्दै कर तिर्नुपर्ने अडान लिँदै आएको छ ।

यो वर्ष कुल राजस्व संकलनको लक्ष्य १० खर्ब ११ अर्ब ७५ करोड राखिएकोमा सोमबारसम्म सरकारले ३ खर्ब ७६ अर्ब २ करोड राजस्व संकलन गरिसकेको छ । आयकरको पहिलो किस्ता बुझाउने अन्तिम दिन पुस मसान्तमा सरकारको राजस्व खातामा ठूलो रकम भित्रिने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू