अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२० | Colorodo: 18:35

‘कोभ्याक्स’ मार्फत ६० लाख नेपालीलाई खोप उपलब्ध हुने–एनआरएनए

बिआरटीनेपाल २०७७ मंसिर २८ गते ७:०५ मा प्रकाशित

कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत नेपालमा पनि जनसंख्याको २० प्रतिशत अर्थात करीब ६० लाख नेपालीलाई पुग्ने गरी खोप उपलब्ध हुने गैरआवासीय नेपाली संघले जनाएको छ ।गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभ्याक्स सुविधामार्फत न्यून आय आएका नेपाल जस्ता मुलुकमा खोपको सहज वितरण गरिने भएकाले नेपालमा पनि ६० लाख मानिसका लागि कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ ।

यद्यपी यसका लागि सबैभन्दा पहिले खोपको सफलता नै आवश्यक भएको समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिनुभयो ।हाल विश्वभर ५८ वटा खोपे कोरोनाविरुद्धको खोपको क्लिनिकल ट्रायल भइरहेको छ । तीमध्ये १५ वटाको परीक्षण अन्तिम चरणमा छ ।

अमेरिकी र जर्मन साझेदार कम्पनी फाइजर र बायोएनटेकले निर्माण गरेको खोपलाई भने ५ वटा मुलुकले अनुमति दिइसकेका छन् ।सो खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।हालसम्म बेलायत, बहराइन, क्यानडा, अमेरिका र मेक्सिकोले सो खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिएका हुन् । पहिलो चरणमा उच्च जोखिममा रहेका बिरामी र वृद्धवृद्धालाई सो खोप दिइनेछ ।नेपालमा पनि सोही खोप ल्याउन सकिने संकेत सरकारी अधिकारीहरुले गरेका छन् यद्यपी सो विषयमा औपचारिक निर्णय भएको छैन ।

यसैबीच, कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट हालसम्म विदेशमा करिब ५० हजार नेपालीहरु प्रभावित भएका छन् ।गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार नेपाल बाहेक ४९ देशका ४९ हजार २ सय ५७ जना नेपालीमा कोरोना संक्रमण भएको हो ।स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४६ हजार ३८ जना रहेको छ ।यो कुल संक्रमितको ९३ प्रतिशत रहेको हो ।

विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कुल संख्या ३ सय १ पुगेको छ ।सापकोटाका अनुसार यो साता साइप्रस, जापान, भारत, रोमानिया, स्पेन, कतार, युएई, र साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू