अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

आफू भित्र भएको ईश्वर लाई जीवन्त पारौँ

शेखर ढुंगेल २०७७ वैशाख १८ गते १४:१० मा प्रकाशित

समाज भित्र मानिस हुन्छ मानिस भित्र प्रेम हुन्छ प्रेम भित्र ईश्वर हुन्छ र जहाँ ईश्वरको उपस्थिति हुन्छ त्यो समाज शान्त सुन्दर र संवृद्ध हुन्छ
हाम्रो जस्तो समाजमा मानिसहरू गुनासो धेरै गर्ने गर्छन् । समाजमा अरूको दोष न देखाई अरूको नकारात्मक चर्चा नगरी आफ्नो काममा मात्र व्यस्त हुने मानिस बहुत कम छन् तर उनीहरूले ध्यान दिएका हुन्नन् कि अरू प्रति एक औला तेर्स्यौदा आफू प्रति तिन औला तेर्सिएको हुन्छ । तर जब मानिसले ज्ञान प्राप्त गर्दछ तब उ अरू मानिसलाई प्रेम गर्न थाल्दछ अनि उसको लागि गुनासोको विषय नै हुन्न । सृष्टिकर्ताले मानिसलाई आफ्नै जीवन भोग्नको लागि मात्र पठाएको होइन अन्य मानव एवम् जीव जन्तु र प्रकृतिको सेवाको लागि पनि पठाएको हो । तसर्थ मानिसमा हमेसा दयाभाब सेवा करुणा अरू प्रति सम्मान, शान्ति, सदभाब र सहयोगको लागि तँन् मन र धन समेत लगाउने सोच हुनु पर्दछ । जसको लागि एक आपसमा प्रेमको खाँचो पर्दछ प्रेमले नै समाजमा सुख शान्ति भाइचारा कायम रहन्छ र यसैबाट ईश्वर सितको सम्बन्ध र सम्पर्क हुन्छ अनि समाजमा ईश्वरको उपस्थिति हुन्छ ।

प्रेम सदभाब न भएको मानिसलाई समाज र ईश्वर समेतले स्वीकार गर्दैनन् । यस प्रसङ्गमा एउटा छोटो कहानी उल्लेख गर्नु उचित देखेको छु । एउटा युवक हताश मन लिएर महासन्त गुरु एवम् धर्माचार्य रामानुजको कुटीमा पुगेर गुरु सित बिन्ती गरे गुरुजी म हजुरको शिष्य बन चाहन्छु ।
गुरुले भन्नु भयो त्यो त ठिक छ युवक तर तिमी भन मेरो शिष्य चाही किन बन्न चाहन्छौँ ?

युवकले भने गुरु म तपाइको शिष्य बनेर ईश्वरको सम्पर्कमा पुग्न चाहन्छु, म ईश्वर सित प्रेम गर्दछु ।
गुरुले भन्नु भयो त्यो पनि ठिक छ युवक ल एउटा कुरो बताऊ के तिमी घरको कोही सदस्य वा सबै सदस्य, टोल छर छिमेकी, आफन्त, दुखी गरिब, वृद्ध, बालक, रोगी र कुक्कुर बिराला चरा चुरुंगी फुलको बोट वृक्षलाई प्रेम गर्दछौ ?
युवक ले भने गर्दिन गुरु म कसैलाई पनि प्रेम गर्दिन ।

गुरुले फेरी सोध्नु भयो युवक तिमी बा आमा भाइ बहिनी कोही प्रति दया स्नेह प्रेम करुणा देखाउने गर्दछौ ?
युवकले भने गर्दिन गुरु गर्दिन यो दुनियाँ सब स्वार्थी हो । माया जाल हो भ्रम हो म कसैलाई प्रेम गर्दिन म एक्लो भएको छु त्यसैले त म तपाइको शरणमा आएको छु ।

गुरुले भन्नु भयो युवक तिम्रो र मेरो र ईश्वर सित कहीँ कतै मेल खाँदैन । त्यसैले म तिमीलाई मेरो शिष्य बनाउन असमर्थ छु तिमी जे खोजी रहेछौ म त्यो दिन असमर्थ छु ।

युवकले बिन्ती गर्दै भने मैले यो संसार झुटो भ्रम हो सम्झेर कसै प्रति पनि प्रेम स्नेह राखिन म एक्लो भएर यता उति भत्किरहेको छु हजुर कै एक शिष्यले मलाइ ईश्वर प्राप्ति गर्नु छ भने हजुरको शिष्य बन्न जाने सल्लाह दिएकोले हजुरको शरणमा आएको छु अब म कहाँ जाऊ गुरु ?

गुरुले भन्नु भयो यदि तिमी भित्र अर्को मानव प्रति प्रेम हुन्थ्यो, आफन्तलाई प्रेम गर्ने सोच हुन्थ्यो जनावर पशु पक्षी फुल वृक्ष सित लगाव हुन्थ्यो मधुर बोली र व्यवहार हुन्थ्यो भने म नै तिम्रो शिष्य बनेर तिमीलाई ईश्वर मान्ने थिए । तिमी भित्र प्रेम स्नेह र करुणाको सानो बीज समेत छैन भने यो ब्रह्माण्ड लाइ प्रेम गर्ने ईश्वर सित तिम्रो के मेल खान्छ र ? ईश्वरलाई मैले पनि देखेको छैन भेटेको छैन तर मलाइ यही विश्वास छ प्रत्येक जीवित आत्मा भित्र ईश्वरको बास छ । प्रत्येक जीवित फुल र वृक्षमा ईश्वरको बास छ अब तिमी ती आफन्त ती वृद्ध ती रोगी ती पशु पक्षी र ती फुल रुख बिरुवालाई प्रेम गर्दैनौ भने ईश्वर कहाँ भेट्छौँ ? प्रेम नै ईश्वर हो

“परिवर्तन को लागि नागरिक आचार संहिता “प्रकाशोन्मुख किताबबाट