अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२८ | Colorodo: 09:43

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

बिआरटीनेपाल २०७७ मंसिर १६ गते ६:४० मा प्रकाशित

उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोनाविरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गर्नुभएको छ ।जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताउनुभएको हो ।ह्यारी काजियानियासले लेख्नुभएको एक लेखमा उत्तर कोरियाली नेता किम, वरिष्ट सरकारी अधिकारीहरु र उहाँका परिवारका सदस्यहरुले एक(दुई साताभित्रै चीनमा निर्माण गरिएको खोप लगाएको बताउनुभएको छ ।

काजियानियास हाल वासिङटनस्थित सेन्टर फर नेसनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ट निर्देशक हुनुहुन्छ । लेखमा उहाँले दुईजना अपरिचित जापानी गोप्य स्रोत उल्लेख गर्नुभएको छ ।तर, चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये कुन खोप किम र उहाँका परिवारका सदस्यले लगाएका हुन् भन्ने खुलाइएको छैन ।

चीनमा हाल तीनदेखि चार किसिमका खोप परीक्षणका क्रममा रहेका छन् । तीमध्ये एउटा खोप चीनभित्रै करिब १० लाख व्यक्तिलाई लगाइएको छ । तर, खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निर्क्योल हुनसकेको छैन । उत्तर कोरियामा हालसम्म कोरोनाभाइरस संक्रमणका बारेमा केही जानकारी सार्वजनिक गरिएको छैन । तर, गत जनवरीदेखि नै उत्तर कोरियाली सीमामा निकै कडाइ गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू