अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४ | Colorodo: 16:19

बेलायतमा ‘कुमारीत्व परीक्षण’ सेवा बिक्री हुने गरेकामा आपत्ति, ‘मानवअधिकार हनन’ भएको डब्लूएचओको भनाइ

बिआरटीनेपाल २०७७ मंसिर १५ गते ६:५७ मा प्रकाशित

ब्रिटेनका क्लिनिकहरूमा महिलाहरूलाई विवादास्पद ‘कुमारीत्व परीक्षण’ सेवा उपलब्ध गराइने गरेको बीबीसीले जनाएको छ ।बीबीसी न्यूजबीट तथा १०० विमिनले पत्ता लगाएको भन्दै बीबीसीमा आएको समाचारमा यस्तो परीक्षणमा महिलाको परीक्षण गरेर योनीको झिल्ली दुरुस्त छ कि छैन भनेर हेर्ने गरिएको उल्लेख छ ।विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ र संयुक्त राष्ट्रसंघले व्यक्तिको निजत्व हनन हुने यस्ता परीक्षणलाई मानवअधिकारको उल्लंघन भएकाले प्रतिबन्ध लगाउनुपर्ने बताउँदै आएका छन् ।

यस्ता अवैज्ञानिक परीक्षणबाट कोही कुमारी हो कि होइन भन्ने प्रमाणित गर्न नसकिने बरु परीक्षणका नाममा शोषणको हतियार हुनसक्ने आलोचकहरुले बताउने गरेका छन् ।बीबीसीले गरेको अनुसन्धानमा कतिपय निजी क्लिनिकहरूले ‘कुमारीत्व मर्मत’ गर्ने विज्ञापन समेत गरेको उल्लेख छ । तिनलाई सम्पर्क गर्दा १५० देखि ३०० पाउण्डमा यस्ता ‘सेवा’ उपलब्ध हुने बताएको बीबीसीले जनाएको छ ।

बीबीसीले २१ वटा क्लिनिक पहिचान गरी १६ वटासँग सम्पर्क गर्दा सात वटाले ‘कुमारीत्व परीक्षण’ गर्ने गरेको पुष्टि गरेको उल्लेख गरेको छ ।सबैले झिल्ली मर्मत गर्न शल्यक्रिया गर्ने गरेको यस वापत १५ सयदेखि ३ हजार पाउण्डसम्म पर्ने बताएका थिए ।गत पाँच वर्षमा झिल्ली मर्मत गर्न त्यस्ता ६९ शल्यक्रिया भएका राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस इग्ल्याण्डले नै जनाएको छ ।

बाध्यतापूर्वक गरिने विवाहका पीडितहरूको सहयोगमा संलग्न परोपकारी संस्था कर्मा निर्भानाले सहयोग गरेको एकजना महिलाको भनाइलाई उधृत गर्दै बीबीसीले परिवारको दबाबका कारण एक जनाले परिवार नै त्याग्नु परेको उल्लेख गरेको छ ।

कर्मा निर्भानाको हेल्पलाइनमा काम गर्ने प्रिया मनोटाले आफूहरुकहाँ यस्ता समस्यामा परेका महिलाको फोन आउने भन्दै कतिपय महिलाले आफ्नो सम्बन्ध रहेको र आफू कुमारी नरहेको परिवारले थाहा पाएकाले समस्यामा रहेको बताउने गरेको जानकारी दिइन् ।परिवारले कुमारीत्व परीक्षण गराउन खोजेको र त्यसको परिणामबाट आफू चिन्तित भएको ती महिलाहरुको भनाइ छ । केही घटनामा त पीडित महिलाको ज्यान नै पनि जाने गरेको बताइएको छ ।

डब्लूएचओ अनुसार कुमारीत्वको परीक्षण कम्तीमा २० देशमा गर्ने गरिएको छ । तर यस्ता परीक्षणले कुनै किशोरी वा महिलाले यौनसम्बन्ध राखिसकेको हो वा होइन भन्ने कुनै पुष्टि हुने प्रमाण नदिने डब्लूएचओले प्रष्ट गरेको छ ।योनीको झिल्ली ट्याम्पनको प्रयोग वा कसरतजस्ता अन्य विभिन्न कारणले पनि च्यातिने हुँदा यस्ता परीक्षण मानवअधिकारको हनन हुने ती संस्थाको भनाइ छ ।

यसैबीच बीबीसीले अनलाइनमा झिल्ली मर्मत गर्ने सामग्री बिक्री हुने गरेको फेला पारेको भन्दै कुमारीत्व पुनस्र्थापित गर्ने दाबीका साथ ती सामग्री ५० पाउण्डमा बिक्रीमा राखिएको उल्लेख गरेको छ । करिब १०४ पाउण्डमा किनिएको एउटा त्यस्तो सामग्री जर्मनीबाट आइपुग्यो । त्यो किटमा जेल, प्लास्टिकका ट्वीजर अनि नक्कली रगतजस्तो लाग्ने तीन पोका थिए । तर कसरी प्रयोग गर्ने भन्ने विवरण थिएन, बीबीसीको भनाइ छ ।

स्त्रीरोग विशेषज्ञ डा. अस्फाक खानले आफूकहाँ कुमारीत्व परीक्षण गराइदिने तथा झिल्ली मर्मत गराइदिने अनुरोध नियमित आउने गरेको बताउनुभएको छ । उहाँले यसलाई यूकेमा प्रतिबन्ध लगाइनुपर्ने पनि बताउनुभयो । उहाँ यसलाई अपराधका रुपमा लिनुहुन्छ । नैतिकरूपमा पनि गलत मान्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू