अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२३ | Colorodo: 20:38

श्रीलंकाको जेलमा कोभिड–१९ को कारण दंगा, कम्तीमा ८ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर १५ गते ६:४४ मा प्रकाशित

श्रीलंकाको राजधानी कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दंगामा परी ८ व्यक्तिको मृत्यु भएको छ । यस दंगामा मारिएका सबै व्यक्ति कैदी नै भएका जनाइएको छ । दंगामा परी अन्य ४५ जना घाइते भएका छन् । घाइते भएकाहरुमा सुरक्षाकर्मी पनि रहेका छन् ।

कारागारमा कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवा–सुविधाको माग गर्दै प्रदर्शन गरेका थिए । राजधानी कोलोम्बोस्थित वेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका हुन् ।

बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भएको भडपमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका बताइएको छ । श्रीलंकाको जेलहरूमा अहिलेसम्म करिब १,००० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।कारागारमा रहेका बन्दीहरुले सुरु गरेको दंगा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बल प्रयोग गर्नुपरेको प्रहरी प्रवक्ता अजित रोहना बताउनुभएको छ ।

सो दंगामा घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता रोहनाले बताउनुभएको छ । कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएको पनि रोहनाले बताउनुभएको छ । श्रीलंकामा कोरोना सुरु भएयता २३ हजार ४०० भन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको र यस संक्रमणबाट ११६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू