अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 15:59

म्याराडोनाको निधनमा अर्जेन्टिनामा ३ दिन राष्ट्रिय शोक, समर्थक सडकमा आए

बिआरटीनेपाल २०७७ मंसिर ११ गते ६:१३ मा प्रकाशित
डिएगो म्याराडोनाको निधनपछि अर्जेन्टिनामा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । बुधबार ६० वर्षको उमेरका हृदयाघातका कारण म्याराडोनाको निधन भएको हो । म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति भवन कासा रोसारा लगिएको छ  जहाँ तीन दिनसम्म मानिसहरुले श्रद्धाञ्जली दिन सक्नेछन् ।
म्याराडोनाका टिमका साथी रहेका ओहवाल्दो अर्बिलेसले म्याराडोनाले जति प्रसिद्धि र प्रशंसा पाए त्यही अहिलेका फुटबलका सुपरस्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले कहिल्यै पनि पाउन नसक्ने बताएका छन् । फुटबल दुनियाँका कैयौँ हस्तीहरूले म्याराडोनालाई श्रद्धाञ्जली दिए । यसमा मेस्सी, रोनाल्डोदेखि लिएर ब्राजिलका महान् खेलाडी पेले पनि सामेल छन् ।  पेलेले श्रद्धाञ्जलीमा भनेका छन्, ‘मैले एक निकट साथी गुमाएँ र विश्वले एक महान् खेलाडी गुमाएको छ । मलाई आशा छ हामी एक दिन आकाशमा एकैसाथ फुटबल खेल्नेछौँ ।’
म्यानचेस्टर सिटीका म्यानेजर पेप गुआर्डिएलोले म्याराडोनाले विश्व फुटबललाई अझ राम्रो बनाएको बताएका छन् ।  अर्बिलेसले मानिसहरु पोर्चुगलका स्ट्राइकर रोनाल्डोलाई मन पराउँछन्, अर्जेन्टिनाका फरवार्ड मेस्सीलाई मन पराउँछन् तर म्याराडोनाले पाएको जस्तो प्रसिद्धि सपना पनि पाउन नसक्ने बताए ।
बुधबारको च्याम्पियन्स लिगको खेलमा म्याराडोनाको सम्मानमा एक मिनेटको मौनधारण राखिएको थियो । यस हप्ताको युरोपेली फिक्सर्समा पनि एक मिनेटको मौनधारण राखिनेछ ।बुधबार अर्जेन्टिनामा फुटबल क्लब इन्टरनेशनल र म्याराडोनाको पूर्व क्लब बोका जुनियर्सबीच खेल थियो, जसलाई रद्द गरिएको थियो । निकै ठूलो सङ्ख्यामा प्रशंसकहरु स्टेडियम पुगेका थिए र म्याराडोनाको निधनलाई लिएर भावुक हुँदै रोए पनि ।
त्यस्तै म्याराडोना रहँदै आएका स्यान एण्ड्रेसमा पनि ठूलो सङ्ख्यामा प्रशंसकहरु पुगेका थिए । अर्जेन्टिनाको राजधानीमा म्याराडोनाका प्रशंसकहरु विभिन्न तरिकाले सम्झिरहेका छन् । हजारौँ माइल टाढा इटलीमा नेपोलीको सान पाउलो स्टेडियममा मानिसहरु भेला भए र त्यहाँ पनि म्याराडोनालाई श्रद्धाञ्जली दिए । यो ठाउँ म्याराडोनाको लागि विशेष छ, उनले त्यहाँ इटालियन क्लबका लागि १८८ खेल खेल्दा ८८ खोल गरेका थिए ।
मानिसहरुले म्याराडोना शर्ट र फेस मास्क पनि लगाएका छन् । नेपोलीमा पनि म्याराडोनाको निधनको खबरले पूरै शहर शोकमा डुबेको छ । शहरका मेयरले सन पाउलो स्टेडियमको नाम म्याराडोना राख्ने पनि घोषणा गरेका छन् ।   सर्वकालीन सर्वोत्कृष्ट खेलाडीका रूपमा लिइने म्याराडोनाले आफ्नो कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनालाई विश्व कपको उपाधि दिलाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू