अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

राजस्व बढाउन करका दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण जरुरी – अर्थमन्त्री पौडेल

बिआरटीनेपाल २०७७ मंसिर ७ गते ६:०४ मा प्रकाशित

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताउनुभएको छ । नवौं राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आन्तरिक राजस्व कार्यालय को उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै परिपालनाका माध्यमबाट समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभयो ।

सो अवसरमा मन्त्री पौडेलले कर परीक्षण कर,अनुसन्धान , बजार अनुगमन , प्रशासनिक पुनरावलोकन , बक्यौता असुली , बेरुजु फछर्यौट जस्ता परिपालनाका विधिलाई कडाइका साथ लागू गर्न निर्देशन समेत दिनुभएको छ । अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम लागत , सेवाग्राहीमैत्री व्यवहार, प्रकृयागत सरलीकरण, प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिनुभयो ।

यस्तै करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा र पहुँच बिस्तारमा परिणाम देखिने गरी सुधार गर्न आन्तरिक राजस्व विभाग र मातहतका सबै राजस्व कार्यालयलाई मन्त्री पौडेलले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू