अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४० | Colorodo: 13:55

प्रश्नै-प्रश्न

रन्जु मार्ग २०७७ मंसिर ३ गते ७:५३ मा प्रकाशित

लघुकथा:

सानेले घाँसको भारी बिसाएको मात्र के थियो, भित्रबाट मालिक कड्किए –

“कत्रोबेर लगाएको ए साने यति जाबो घाँस ल्याउन, यहाँ कुकुर पूजाको साइत जान लागिसक्यो, छिटो कुकुर बोला आँगनमा।”

सानेले यसो घरको आँगनको डिलबाट चोइ चोइ भन्दै कुकुरलाई बोलायो I कुकुर पनि दौडेर साने भएठाउँमा आयो। मालिक र उनकी सानी छोरी प्रगति कुकुरलाई फूल अक्षताले पूजा गर्न लागे। मालिकले सयपत्रीको माला घाँटीमा लगाइदिँदा कुकुरले दुई तीन पटक आङ जुरुङ्ग-जुरुंग गर्‍यो। प्रगतिलाई के रमाइलो लागेछ कुन्नि खुब हाँस्न थाली। प्रगतिसँगै साने पनि हाँस्यो तर मालिकको कटाक्षले ऊ मलिन भयो। प्रगति पनि मलिन भएर सानेको मुखमा हेरिरही।
#

बाउआमा भित्र गएपछि सानेसँग लाडिँदै भनी, “पर्सि त भाइटिका हो, तिमी मेरो दाइ बन ल, म टीका लगाइदिन्छु”।

अघिल्लो वर्ष तिहारकै दिन उसकी बहिनी लगातारको पखालाले बितेकी थिई, त्यही कुरा सम्झेर होला साने एकै छिन टोलायो। के भनौँ भनौँ भएको बेलामा प्रगतिको आवाजले फेरि झस्कायो, “हुन्छ है, हुन्छ भनन मेरो प्यारो दादा” प्रगतिले टासिंदै भनी। सानेका आँखा अनायासै रसायो I

मनभरिको खुसी अटेसमटेस गर्दै सानेको बोली फुट्यो -“हुन्छ”।

माग पूरा भएको खुसीमा प्रगति सानेको डँडाल्नामा चढ्छे र “हट घोडा हट” भन्दै कराउन थाल्छे। सानेले प्रगतिलाई पिठ्युँमा बोकेर आँगनको वरिपरि घुमाइरह्यो I

यतिकैमा बिजुली चम्केझैँ सानेको गालामा कसैको थप्पड परयो । ऊ भुईँमा लड्यो , प्रगति अर्को तर्फ लडी । एक छिन त सानेले थप्पडले तिलमिलाएर केही देखेन । प्रगति डाको छोडेर रोएको सुन्दा बल्ल होस् खुलेजस्तो भई साने उठाउन गयो ।

यतिकैमा पाखुरामा समातेर ” नछो त्यसलाई ” भन्दै कसैले झड्कारयो । बल्ल पो उसले आफ्नै मालिक आफ्नो अगाडि उभिएको देख्यो I उनी भन्दै थिए -“यो घर छोडेर गइहाल” I

फेरी उता प्रगतितर्फ झम्टँदै भने – “तँलाई यो तल्लो जातकोसंग नखेल भनेको होइन?”
##

बाहिरको घटनाबाट अपरिचित मालिक्नी भित्रबाट कराउँछिन् –

“ए साने, आज तिहारको कुकुरलाई भोकै राख्लास् नि, अघाउँजी खान दे, कुट्ने गाली गर्ने केही गर्नु हुँदैन”।

“हुन्छ मालिक्नी” यताबाट सानेले आफ्नो गाला छाम्दै जवाफ फर्कायो ।

प्रगति भने मनभरि प्रश्न उमार्दै साने र कुकुर दुबैलाई खुब नियालेर हेरिरहेकी थिई !!