अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४८ | Colorodo: 22:03

“स्वदेशी फूलले नै तिहारको माग धान्छ” – पुष्प व्यवसायी

बिआरटीनेपाल २०७७ कार्तिक १४ गते ६:४५ मा प्रकाशित

यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा मखमलि फूलको मालाको खपत हुने गर्छ । तर यसवर्ष तिहार अगाडि नै सयपत्री फूल फुलिसक्ने भएकाले माग अनुसार फूल आपूर्ति हुन नसक्दा बजार प्रभावित हुने देखिएको छ । तर व्यवसायीहरुले भने तिहारमा स्वदेशी उत्पादनले नै फूलको माग धान्ने बताएका छन् ।

किसानहरुले लगाएको सयपत्री फूल फुल्ने समयभन्दा पछाडि तिहार परेकाले फूलको बजारमा असर पर्ने आँकलन गरिएको हो । तर पुष्प व्यवसायीहरु भने क्यालेण्डरको आधारमा फूल खेती गरिएकाले नेपाली उत्पादनले नै यसवर्षको मागलाई सहजै धान्ने बताउँछन् । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले अधिकमासका कारण यसपटकको तिहार २०र२२ दिन पछाडि धकेलिएपनि फूलको बजारलाई कुनै असर नपर्ने बताउनुभयो ।

घरेलु किसानले उत्पादन गरेको फूल तिहार अगाडि नै सुकेर जाने भएपनि व्यावसायिक रुपमा गरिएको फूलको उत्पादन निरन्तर चलिरहेकाले तिहारको मागलाई सजिलै धान्ने उहाँले बताउनुभयो । गतवर्षको तिहारमा २५ लाख माला खपत भएको थियो । जसमध्ये मखमली माला ५ लाख र सयपत्री माला २० लाख रहेको थियो ।

यस वर्ष भने कोभिड संक्रमणको जोखिमका कारण फूलको माग कम हुने आँकलन गरिएको पनि अध्यक्ष कसजूँले बताउनुभयो । यसवर्ष १२ देखि १५ लाख मालाको माग हुने अनुमान गरिएको र सबै मालाको आपूर्ति स्वदेशी उत्पादनबाट हुने उहाँको भनाइ छ ।

यसवर्ष फूलको मूल्य भने केही महँगो पर्ने भएको छ । अध्यक्ष कसजूँका अनुसार सयपत्री फूलको एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म पर्न सक्ने बताउनुभयो । गत वर्ष सयपत्री फूलको एउटा मालाको मूल्य ५० देखि ६० रुपैयाँ परेको थियो । गतवर्षको तिहारमा करिब १० लाख फूलका माला भारतबाट आयात भएको तथ्यांक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू