अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

के छैन नेपालमा

राकेश कार्की २०७७ कार्तिक ९ गते २२:१० मा प्रकाशित

कविता


के छैन नेपालमा!
सर्वोच्च शिखर सगरमाथा
महाभारत र चुरे पहाड
जहाँबाट हत्केलाले घाम छेकेर हेरे
देखिन्छ
कामको खोजीमा
खाडीको तातो घाममा खलखल
पसिना चुहाइरहेका नेपालीहरू
अमेरिकाको ग्यास स्टेसनमा
लुटेराको तातो गोलीले मरेका
नेपालीहरूको सम्झना

के छैन नेपालमा!
वीर शम्सेरले बनाएको वीर अस्पताल
च्याउ उम्रे जस्ता
निजी अस्पताल र मेडिकल कलेजहरू
समाचारमा सुनिन्छ
उपचारको खोजीमा
भारत, सिंगापुर र अमेरिका
प्रधानमन्त्री र अध्यक्षज्यू लगायत
साधारण सर्वसाधारण जनता
धाइ नै रहेका छन्
रोग बिसेक हुने विश्वासमा

के छैन नेपालमा!
चन्द्र शम्सेरले बनाएको त्रि-चन्द्र कलेज
त्रिभुवनको नाममा त्रिभुवन विश्वविद्यालय
मंहगा मंहगा अनेकौँ
निजी कलेज र विश्वबिद्धालयहरू
त्यै पनि विद्धार्थीहरु
भिसाको लाइनमा छन्
विदेशकै शिक्षा राम्रो मानेर
या विदेशकै सर सुविधा राम्रो ठानेर

के छैन नेपालमा!
तर पनि किन नेपाली
विदेशै तिर जान खोज्छन्
हिमालको हिउँ जस्तै
बग्दै बग्दै समुन्द्रतिर
विकसित ठाउँको खोजीमा
काम पाउन
उपचार गर्न
पढिलेखी भविष्य उज्ज्वल पार्न ।

+++
लस एन्जलस