अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२८ | Colorodo: 17:43

“जनताले अहिलेको आशुरी र भष्माशुरी प्रवत्तिबाट उन्मुक्ति चाहेका छन्” – पूर्वराजा ज्ञानेन्द्र

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते ७:३५ मा प्रकाशित

कोरोना संक्रमतिको उपचार नगर्ने सरकारको निर्णयबारे पूर्वराजा ज्ञानेन्द्रले मुख खोल्नुभएको छ । बिहीबार दसैँको अवसरमा शुभकामना दिँदै शाहले नागरिकको उपचारबाट पन्छिने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको हो । शाहले सरकारको रवैयाका कारण नेपाली जनता अभिभावकविहीन बन्न पुगेको निष्कर्ष निकाल्नुभएको छ । पुर्वराजा शाहले जनता बाँचे मात्र राज्य रहने र राज्य रहे मात्र राजनीति रहने यथार्थप्रति सचेत हुन आग्रह गर्नुभएको छ ।

शाहले दिएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ, ‘जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्दछ। संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अविभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुदैछ।’

त्यस्तै उहाँले अहिलको राजनीतिक नेतृत्व आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर व्यक्तिवाद, समूहवादमा लागेको आरोप लगाउनुभएको छ । यसले गर्दा स्थिर, सुदृढ र सन्तोषजनक परिणाम दिन नसकेको शाहको बुझाई छ । सरकारले राहत, रोजगार र रोगको उपचार खोज्दै भौँतारिएका नागरिकलाई भरपर्दो अभिभावकीय भूमिका दिन नसकेको उहाँले उल्लेख गर्नुभएको छ ।

‘दैनिक जीविकाको अत्यावश्यक वस्तुको मुल्य बृद्धि अभाव र गुणस्तरीयतामा हास जस्ता बिषयले हाम्रो जन जीवन पिरोलिएको छ,’ शाहले भन्नुभएको छ , ‘अनि समाजमा अनेक अपराधिक गतिबिधि र पिशाच प्रवृत्ति बढ्दो छ । यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ। त्यसैले आज सबैले बढ्दो आशुरी र भष्माशुरी प्रवत्तिबाट उन्मुत्ति चाहिरहेका छन्।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू