अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०७ | Colorodo: 06:22

“जनअपेक्षा छिट्टै पूरा हुनेछन्” – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७७ असोज ३ गते ७:२४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार अझ व्यापक रुपमा विकास परियोजना अगाडि बढ्ने बताउनुभएको छ । संविधान दिवस, २०७७ का अवसरमा शनिबार भिडियो सन्देश जारी गर्दै उहाँले आगामी दिनमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता अझै सुदृढ हुँदै जाने विश्वास दिलाउनुभयो ।

उहाँले संविधान दिवसको ऐतिहासिक अवसरले हामी सबैमा एकताका, शान्ति र समृद्धिको नयाँ संकल्प लिने दिनका रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नभएको छ । राष्ट्रिय एकता, स्वाधिनता, आत्मसम्मानको अभिवृद्धि गर्न पनि संविधान दिवसले मद्दत गर्ने उहाँको विश्वास छ । संविधानले निर्दिष्ट गरेका मौलिक अधिकारसँग सम्बन्धित होस्, या स्थानीय तह, प्रादेशिक तह वा सङ्घीय संरचनासँग समबन्धित अनगिन्ती ऐन कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले समयमै निर्माण गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नेकपा नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सहज बनाउने, र छिमेकीसँगको सम्बन्धलाई सुदृढ गर्ने कुरामा समेत विशेष ध्यान दिएको बताउनुभयो ।

संविधानसभाबाट संविधान निर्माण प्रक्रियालाई आफैमा एउटा ऐतिहासिक महत्वको राजनीतिक परिघटनाका रुपमा लिँदै उहाँले नेपालमा २००७ सालमा संविधानसभाबाट संविधान बनाउने कुरा उठे पनि ऐतिहासिक जनयुद्ध, बाह्रबुँदे समझदारी र ऐतिहासिक जनआन्दोलनको संयोजनबाट नेपालमा संविधानसभाको निर्वाचनमार्फत नेपाली जनताको चाहना पूरा हुने अवस्था बनेको बताउनुभयो ।नेपालको बृहत एकता, यसको राष्ट्रिय स्वाधितनता, आत्मसम्मानको वृद्धि र नेपाली जनताको समृद्धिको आकांक्षा संविधानको अपेक्षाका रुपमा रहेको उल्लेख गर्दै उहाँले इतिहासको मूल्याङ्कनको दृष्टिले पाँच वर्षलाई लामो समयका रुपमा लिन नहुने बताउनुभयो ।

सन्देशमा प्रचण्डले संविधानसभाको निर्वाचनमा देशमा लैजानका निम्ति आफ्नै नेतृत्वमा सञ्चालित जनयुद्ध, त्यसपछि सात राजनीतिक दल र नेकपा माओवादीले गरेको बाह्रबुँदे समझदारी र ऐतिहासक जनआन्दोलन हुँदै देश अन्तत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा हुने ठाउँमा आइपुगेको स्मरण समेत गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू