अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

४ लाख आप्रवासी अमेरिका छोड्न बाध्य हुने 

बिआरटीनेपाल २०७७ भदौ ३१ गते ७:३८ मा प्रकाशित

न्यु योर्क । अमेरिकी सङ्घीय अदालतको एउटा निर्णय अनुसार यहाँ बसोबास गरिरहेका ४ लाख आप्रवासी स्वदेश फर्किन बाध्य हुन सक्नेछन् । क्यालिफोर्नियास्थित युनाइटेड स्टेट कोर्ट अफ अपिल फर द नाइन्थ सर्किटले सोमबार त्यस्तो निर्णय गरेको हो ।

उक्त अदालतले गरेको निर्णयमा ट्रम्प प्रशासनले आफ्नो कानुनी अधिकार प्रयोग गरी आप्रवासीलाई कानुनी सुरक्षा उपलब्ध गराउन रोक्ने निर्णय गरेको उल्लेख छ । उक्त निर्णयले करिब ४ लाख आप्रवासीलाई देश निकाला गर्न बाटो खोल्नेछ ।

यो निर्णयबाट खासगरि टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टिपिएस) मा अमेरिकामा बसोबास गरिरहेका आप्रवासीलाई समस्यामा पार्न सक्नेछ । प्राकृतिक लगायतका विपत्तिका कारण आफ्नो देश छाडेका मानिस टिपिएसमा अमेरिका बसोबास गरिरहेका छन् । ट्रम्प प्रशासनले अहिले उनीहरूको देशमा विपत्ति समाप्त भइसकेको दाबी गरेको छ । उसले भूकम्प, आँधी, जनयुद्ध लगायतका कारण देखाउँदै वर्षौं अघि विभिन्न देशबाट धेरै मानिस अमेरिका आएको तर त्यस्तो विपत्ति समाप्त भई अवस्था सामान्य बनिसक्दा पनि उनीहरू स्वदेश नफर्किएको भनेको छ ।

ट्रम्प प्रशासनले खासगरि हैटी, एल साल्भाडोर र सुडानमा अवस्था सामान्य बनिसकेको जनाएको छ । उसले ती देशका मानिसलाई सुरक्षित स्थान आवश्यक नरहेको दाबी गरेको छ । टिपिएस अन्तर्गत करिब ५० हजार अमेरिका बसोबास गरिरहेका छन् । यो सुविधा आगामी ५ अप्रिलमा समाप्त हुँदैछ ।

आगामी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प निर्वाचित भए उनले यो निर्णयलाई निरन्तरता दिन सक्नेछन् । तर, ट्रम्प पराजित भए नयाँ राष्ट्रपतिले ट्रम्प प्रशासनको निर्णय खारेज गरी आप्रवासीलाई सुरक्षा प्रदान गर्न सक्नेछ ।


Photo: AFP Via Getty Imagae

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू