अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

याेशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने पक्का

बिआरटीनेपाल २०७७ भदौ २९ गते २:०४ मा प्रकाशित

जापानको अहिलेको सरकारका मुख्य सचिव याेशिहिदे सुगा नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले नयाँ नेता चुनेसँगै उहाँ प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

याेशिहिदेले साेमबार निकै सहज रुपमा आन्तरिक मतमा जित हासिल गर्नुभएकाे थियाे । याेशिहिदेलाई ५३४ मतमा ३७७ प्राप्त भएकाे थियाे । यसरी उहाँले आफ्ना दुई प्रतिद्वन्द्वी पूर्व रक्षामन्त्री शिगेरु इशिबा र पूर्व विदेश मन्त्री फुमियाे किशिदाविरुद्ध जित हासिल गर्नुभएकाे हाे ।

प्रधानमन्त्री शिन्जो आबेले गएकाे महिना स्वास्थ्य कारण राजीनामा घोषणा गर्नुभएको थियो । आबेले राजीनामा दिएपछि धेरैले सुगा नै जापानको आउँदाे प्रधानमन्त्री बन्ने अपेक्षा गरेका थिए ।याेशिहिदे सुगा आबेको नजिकको सहयोगी मानिनुहुन्छ । त्यसैले उहाँले आबेकै नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

बुधबार जापानको संसदमा पुनः प्रधानमन्त्री पदको लागि मतदान हुनेछ । जापानको संसदमा सत्तारुढ एलडीपी पार्टीको बहुमत रहेकाले सुगाले जित्ने निश्चित जस्तै छ । नयाँ प्रधानमन्त्रीले सन् २०२१ को सेप्टेम्बरमा हुने चुनावसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू