अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५९ | Colorodo: 05:14

गल्लीका मान्छे

बालकृष्ण गजुरेल २०७७ भदौ २० गते १०:३१ मा प्रकाशित

लघु कथा
” कति प्रमाण पत्र लिएर लखर-लखर हिँडेको डिग्री सकेर पनि ? कस्तो देशमा जन्मिस् बाबु? डिग्री सकेर पनि गुहार लगाउनु पर्ने । ” आमाले दुःख पोख्नु भयो ।

” के गर्नु त आमा ? भनसुन नगरे जागिर पाइँदैन । हिजो संसद् भेटेर आएको हेर्छु भन्नू भैथ्यो । केही गर्नुहुन्छ होला पक्का ।” मैले आमालाई सान्त्वना दिएँ ।

डिग्री सकेको केही वर्ष भैथ्यो । बा-आमा अशक्त । आफू जेठो बाठो । पाँच बैनी र भाइको पनि भार आफैँमा थपियो । व्यवसाय गरम बाटोमा जग्गा नपर्ने । बैङ्कले ऋण नदिने । साथीहरू सम्मृध्दी र समाजवादको नारा रट्ने ।

प्रधानमन्त्री कार्यालय, श्रममन्त्रालय, अर्थमन्त्रालय, कानुनमन्त्रालय, लगायत सबै गयो । पिएले न त मन्त्री भेटाउँछन्, न त केही सहयोगको आशा दिन्छन् । युवा स्वरोजगार, प्रधानमन्त्री स्वरोजगार लगायतका कार्यक्रम सुनिएको हो । फोन त कति गरियो । कसैले नसुन्ने रहिछन् ।

म वाक्क भएर सिंहदरबार गेट बाट बाहिर निस्कँदै थिए । मनभरी गुनासोको चाङ थियो । रुन मात्र सकेको थिइन । खल्ती खाली थियो । भोकले आन्द्रामा मुसा दगुर्दै थियो । आवाज आइरहेको थियो गुडुडुडु…. गरेर ।

बाहिर गेट बाट निस्कँदै गर्दा एक विद्वान् र भलाद्मी व्यक्तिले सोधी हाले -” बाबु पढेको इमानदार जस्तो लाग्यो । कता गएर आयौ ?? ”
” कता जानू र अंकल? कि जागिर , कि व्यवसाय गर्न मन्त्रीहरूले सहयोग गर्छन् कि! भनेर गाको । सबै नसुन्ने रहिछन् ।

ढाडसा दिँदै ती विद्धान बोले – ” छोड बाबु… ती सबै गल्लीका मान्छे हुन् । अन्त बिक्दैनन् । कोही राष्ट्रिय सभामा , कोही समानुपातिक , कोही नाता तथा कृपाले हामी माथि हैकम जमाउन ल्याएका दुष्ट पात्र हुन् । तिमी विद्धान छौ । केही आफैँ गरेर खान्छौ । जताततै बिक्छौ । विद्धानको प्रशंसा जताततै हुन्छ । धैर्य राख ।

म अचम्मित भएँ । मनमा सान्त्वना राखेँ र फटाफट घर लागेँ ।

१९ भदौ, २०७७ हेलम्बु-६, सिन्धुपाल्चोक