अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४० | Colorodo: 02:55

कविताको हत्या

बालकृष्ण गजुरेल २०७६ वैशाख ४ गते २२:३० मा प्रकाशित

कविलाई हिरासत लिइयो रे
समाचार फ‌ैलियो
कलम चलाउने शशंकित भए
जताततै सनसनि ।

“प्रहरी जलाउनेहरू मन्त्री
अर्को समाचार
समाचार लेखे बापत पत्रकार जेल ।

बलात्कारीहरू फुकुवा
मान्छे मार्ने हत्यारा फुकुवा
भ्रष्टचारीहरु फुकुवा
बालुवाटार किन्ने र बेच्ने फुकुवा
कवि जेल चलान
कविता लेखेकोले ।

रचनाहरू बफादारी हुँद‌ैनन्
खातेदारी गर्दैनन्
बास् ! स्वतन्त्र हुन्छन्
समुदायको आवाज निकाल्छन्
वेदना र उत्पीडन बटुल्छन्
हिंसा गर्द‌ैनन् , शाकाहारी हुन्छन्
बाहिर सुगन्धित तर भित्र गन्हाएकाहरु डराउँछन् ।

कविता बम होइन
मिसाइल र बारुद होइन
कति शक्तिशाली ?
यहीँबाट अाँकलन गर्न सकिन्छ ।

शासकको स्तुति गान होइन कविता
न त कवि भजन मण्डले हुन्
न त भक्ति गान हो कविता
विपक्षमा हुँदा प्यारो लाग्ने
सरकारमा नहुँदा सुन्दर लाग्ने ।

धुम्म परेका लेखकका हातमा प्लेकार्ड
मुखमा पट्टि ।
लेखिएको थियो -“कविताको हत्या”
कवि जेल चलान ।