अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१७ | Colorodo: 13:32

राम्रो

बालकृष्ण गजुरेल २०७५ फागुन १५ गते २१:५७ मा प्रकाशित

लघुकथा 

“सुनेको हो ! लाउने लुगा फाटो हाल्नुस् है । के पर्छ के पर्दैन । दुई चार जोर लुगा हाल्नुस् । म आमालाई खाना पस्कन्छु” चमेली बोलिन् भान्छाबाट । “हुन्छ-हुन्छ म कपडा हाल्छु, तिमी छिटो गरेर निस्क ।” रमेशले जवाफ दियो । रमेशलाई हतार थियो । उसले दुइटा टि सर्ट र प्यान्ट हाल्यो । एउटा सट हाल्यो । ऐनाको अगाडि बसेर कपाल मिलायो । “ह्या ! जति हेरे पनि म रमेश नै हुँ । व्यक्तित्व सुन्दर भयो भने भइहाल्छ नि !” उसले आफैँलाई सान्त्वना दियो । ब्याग बोकेर गाउँ जान निस्क्यो । चमेली पनि नभन्दै आइपुगिन् ।

दुवै गाउँ जानलाई आफ्नो गाडीमा बसे । पैसा कमाइ राम्रै थियो । रोजी छाडी बजारमा आएका कपडा किनी नै रहन्थे । फेसन-फेसनका पहिरनले दराज खचाखच थियो । तीन घण्टाको यात्रामा हेलम्बु पुगे । गाडी साथीको सटरमा राखेर घरतर्फ बढे । बिहेको कारण घरभरि पाहुना थिए । “हेर लाज पचेको नखर्मौली आधा फरक जस्तो लगाएर घरमा आएकी । कस्तो लाज घिन हराएकी ? इज्जत भन्ने चिज पनि छैन ।” माख्लाघरे आमोइ जङ्घिन् । खत्रिनि जेठी पनि कसार बटार्दै कानेखुसी गर्दै भनिन्- “होइन देश अनुसारको भेष गर्न नजानेकी आइमाई रहिछ । गाउँका भलादमी सासू ससुराको अगाडि ठाउँ अनुसारको लुगा लगाउनु पो फेसन । के जाती स्कट लगाएर नाइटो र तिघ्रा देखाउँदै आएर आफूलाई धनी देखाएकी होली ” । रमेश वाक्क न बक्क भो । उसले श्रीमतीको पहिरनमा ध्यान नै दिएको थिएन । कुरा काट्नेको कुरा नसुनेको जसरी आमाबालाई ढोगिदियो । कोसेली आमाको हातमा दियो । टुसुक्क के बसेको थियो ।

चमेलीले मुख चुच्चो पारेर सेल्फि खिचिँदै थि नन्दसँग। स्कटले तिघ्रा भन्दा तल छोपेका थिएनन् । टि सर्टले आधा शरीर मात्र छोपेको थियो । ” बुढो मेरो ड्रेस कस्तो छ?” चमेलीले सोधी । पाहुना पाछा सबै खितितिति मुख छोपेर हाँसे । रमेश वाक्क न बक्क भो । आफ्नो श्रीमती त्यत्रो मान्छेको अगाडि के भन्नु, अफसोच ! “अँ राम्रो देखिएकी छेउ त्यो ड्रेसमा ।” छाती गह्रुंगो बनाएर रमेश बोल्यो । रमेश पसिनै पसिना भयो । ठाउँ अनुसार लुगा नलाइदिएकोले उ चिन्तित भयो ।

प्रतिक्रिया