अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२१ | Colorodo: 18:36

खाडी क्षेत्रको ओमानमा पहिलो पटक रहेको नेपाली दूतावासको आफ्नै भवन बन्ने

बिआरटीनेपाल २०७७ भदौ ९ गते ७:२३ मा प्रकाशित

ओमानमा रहेको नेपाली दूतावासको अब आफ्नै भवन बन्न भएको छ । मंगलबार नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणका लागि नेपाल सरकार र ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिनुभयो । ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव प्रशासन तथा लेखा मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबि र नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । ओमानको परराष्ट्र मन्त्रालयमा मंगलबार एक कार्यक्रमको आयोजना गरी सम्झौतामा हस्ताक्षर भएको राजदूत ढकालले जानकारी दिनुभयो ।

नेपाली दूतावास भएको देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको छ । यो जग्गा २० वर्षका लागि लिजमा लिइएको र त्यसपछि फेरि नवीकरण गर्न सकिने प्रावधान रहेको छ ।सम्झौता अनुरूप ओमानको कूटनीतिक हाताभित्र ४१०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ ।

हस्ताक्षर कार्यक्रमपछि मोहम्मद विन नासिरले नेपाल लगायत सम्पूर्ण देशहरूसँग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको बताउँदै नेपालसँगको सम्बन्धको विशेष महत्व रहेको बताउनुभएको छ ।उहाँले जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा नेपालसँग हस्ताक्षर भएकोमा नेपाललाई बधाइसमेत दिनुभएको छ ।

यो सम्झौता पश्चार ओमान रहेको नेपाली दूतावास खाडीमा आफ्नै भवन भएको पहिलो दूतावास बन्नेतर्फ अघि बढ्ने र आफ्नै भवनबाट नेपाली श्रमिकलाई प्रभावकारी र सहजरुपमा सेवा दिन सकिने दूतावासले जनाएको छ । आफ्नै भवन हुँदा भाडा बापत तिर्न पर्ने रकम पनि बच्ने छ । साथै मस्कटमा बन्ने नयाँ भवनबाट नेपाली उत्पादनको प्रदर्शनीलाई स्थायी तथा बृहत बनाई व्यापार तथा पर्यटन प्रवर्द्धन समेत थप योगदान गर्ने योजना रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू