अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५६ | Colorodo: 06:11

एसी चलाइरहेको कोठामा कोरोना संक्रमण हुने सम्भावना बढी

बिआरटीनेपाल २०७७ भदौ १ गते ७:०१ मा प्रकाशित

विश्व स्वास्थ्य संगठनले हावाको माध्यमबाट पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण सर्न सक्ने कुरा गत जुलाई ७ मा सार्वजनिक गरेको थियो । ३२ देशका २ सय ३९ वैज्ञानिकहरुले गरेको अध्ययनमा हावाबाट पनि कोरोना सर्ने सम्भावना रहेको उल्लेख छ ।त्यसो त कोरोना भाइरसबारे अध्ययन अनुसन्धान भैरहेको कारण नयाँ(नयाँ कुरा बाहिर आइरहेका छन् र यसबारेका सुरूका धारणा अधुरा देखिन्छन् ।

शुरूमा फलफूल, तरकारी, खाद्य पदार्थ, पैसा आदिबाट कोरोना सर्छ भनिन्थ्यो । तर अहिले अमेरिकाको (सिडिसी) सेन्टर फर डिजिज् कन्ट्रोलले गरेको अनुसन्धानमा सामान्य सतर्कता अपनाउने हो भने खाद्यान्नबाट कोरोना संक्रमण सर्दैन । रोगीले छोएको वस्तु, कागजको पैसाजस्तो वस्तुबाट सरेको प्रमाण पाइएको छैन । कुनै वस्तुमा बिरामीले छुँदा कोरोना भाइरस सर्यो भने कति समयसम्म रहन्छ भन्ने स्पष्ट भएको छैन । केही मिनेटदेखि घण्टौँसम्म वा केहि दिनसम्म रहन सक्ने कुरा तापक्रम, ह्युमिडिटी र वस्तुको सतहको प्रकारमा भर पर्छ ।

कोरोना सर्ने सबैभन्दा बढी जोखिमपूर्ण स्थान भनेको भीडभाड हो । भीडभाड र गुम्सिएको कोठामा संक्रमण छिटो सर्छ । व्यक्ति आमने(सामने भएर लामो समय कुरा गर्दा, भीडभाडमा जाँदा, भेन्टिलेसन नभएको कोठा वा हलमा धेरै मान्छे बस्दा कोरोना सर्ने जोखिम बढी हुन्छ । खुला ठाउँमा कोरोना संक्रमण सर्ने सम्भावना कम हुन्छ । त्यस्तै एसी चलाइएको कोठाहरुमा पनि कोरोना संक्रमण हुने सम्भावना बढी हुने वरिष्ठ चिकित्सक डा बाबुराम मरासिनी बताउनुहुन्छ ।

एसीले हावामा रहेको आद्र्धता हटाउछ एसी जडित कोठामा हावा बाहिर निस्किने माध्यम बन्द हुन्छ । संक्रमण फैलिन नदिन कोठामा पर्याप्त भेन्टिलेसन हुनुपर्छ ।चीनमा गरिएको अध्ययनमा एसीजडित स्थानमा संक्रमण बढी देखिएको थियो । एसीले चिसो बनाएको स्थानमा भाइरस बढी समयसम्म बाँच्न सक्छ । त्यसैले एसीजडित स्थानमा मास्क अनिवार्य लगाउन विज्ञको सुझाव छ ।

साथै कोरोना संक्रमणबाट बच्न सबैले घरबाहिर निस्किँदा सही तरिकाले मास्क लगाउने, ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने तथा नियमित रूपमा हात धुने र हात धुन सम्भव नभए स्यानीटाईज् गर्ने, काम गर्ने ठाउँमा झ्यालढोका खोलेर राख्ने तथा उचित भेन्टिलेसनको व्यवस्था गर्नुपर्ने सुझाव चिकित्सक र विज्ञहरूले दिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू