अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३ | Colorodo: 14:38

रुसले कोरोनाविरुद्धको खोप विकाश गरी प्रयोगमा ल्याएको राष्ट्रपति पुटिनको दावी

बिआरटीनेपाल २०७७ साउन २७ गते ४:०१ मा प्रकाशित

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरसविरुद्धको खोप विकास गरेर प्रयोगमा ल्याएको दाबी गर्नु भएको छ । पुटिनले कोरोनाविरुद्धको खोप आफ्ना दुई छोरीलाई लगाएको र उनीहरुलाई कुनै ’साइड इफेक्ट’ नदेखिएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पुटिनले मङ्गलबार खोपको विकास गरी दर्ता भएको जानकारी दिनुभएको हो । कोरोनाविरुद्धको खोप दर्ता गर्ने रुस पहिलो राष्ट्र बनेको छ । रुसका अधिकारीहरुले यो खोप डाक्टर, स्वास्थ्यकर्मीसहित मेडिकल कर्मचारी, शिक्षक र अरु उच्च जोखिममा रहेका वर्गमा दिइने जनाएका छन् । समाचार एजेन्सी एजेन्सी एएफपीको जानकारी अनुसार यो खोप मस्कोको गामेल्या इन्स्टिच्युटले बनाएको हो । रुसी राष्ट्रपति पुटिनले रुसमा चाँडै नै यो खोपको उत्पादन सुरु गर्ने र ठूलो संख्यामा खोपको डोज बनाउने बताउनुभएको छ ।

अब यदि रुसले गरेको दाबी सही साबित भएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले खोपलाई मञ्जुरी दियो भने विश्वको लागि यो एउटा ठूलो राहत साबित हुन सक्छ । अहिले विश्वभर नै कोरोना भाइरसविरुद्धको खोप बनाउनको लागि कैयौँ ठाउँमा परीक्षण भइरहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार झण्डै सयभन्दा धेरै खोप बनाउनको लागि काम भइरहेको छ । जसमा अमेरिका, बेलायत, इजरायल, चीन, रुस, भारत जस्ता देश सामेल छन् ।

रुसमा अहिलेसम्म ८ लाख ९७ हजार ५ सयभन्दा धेरैमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण त्यहाँ १५ हजार एक सयभन्दा धेरैको मृत्यु भएको छ । कोरानाको कारण विश्वमा सबैभन्दा धेरै प्रभावित भएको देशको सूचीमा रुस चौथो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू