अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१० | Colorodo: 12:25

सिन्धुपाल्चोकमा बाढी पहिरोमा परी कम्तीमा २ जनाको मृत्यु, २२ जना बेपत्ता, ३२ घर बगे

बिआरटीनेपाल २०७७ असार २४ गते २३:०४ मा प्रकाशित

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी कम्तीमा २ जनाको ज्यान गएको छ भने ५ जना घाईते हुँदा २२ जना बेपत्ता भएका छन् । बाढी र पहिरोले कम्तिमा ३२ घर बगेका छन् ।

बाह्रबिसे नगरपालिकाको वडा नम्बर तीन खागदलमा २० घर र वडा नम्बर ५ जम्बोमा ११ घर बगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जम्बोमा २ जनाको शव फेला परेको छ । अरु तीन जना घाइते भएका छन् ।

त्यस्तै बाह्रबिसे नगरपालिका ५ को जम्बोमा ठाडोखोलामा आएको बाढीले कच्ची र पक्की गरी ११ वटा घर बगाएको छ । त्यहाँ बस, ट्रक, स्कार्पियो र ट्याङकर गरी चार वटा गाडी पनि बगाएको छ । खागदलको पक्की पूल बाढीले बगाएको छ । पक्की पूल सहित अरनिको राजमार्गका विभिन्न ठाउँमा बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ ।

त्यस्तै भोटेकोशी गाउँपालिकाको वडा नम्बर ५ बर्कुटेमा एउटा घर बगाउँदा २ जना बालबालिका घाइते भएका छन् । ४ जना बेपत्ता भएका गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । बाढी आएको थाहा पाएपछि एउटा घरमा भएका सबै भाग्न सफल भएका र अर्को घरका चार जना बेपत्ता भएका उहाँले बताउनुभयो । घाइतेको उद्धार र बेपत्ताहरुको खोजी भैरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू