अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५० | Colorodo: 14:05

बन्दाबन्दी उल्लंघन गर्ने न्युजिल्यान्डका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

बिआरटीनेपाल २०७७ असार १८ गते ७:०१ मा प्रकाशित

न्युजिल्यान्डका स्वास्थ्यमन्त्री डेभिड क्लार्कले राजीनामा दिनुभएको छ । कोरोना भाइरस नियन्त्रणमा सरकारको कदम र स्वास्थ्यमन्त्री आफैले बन्दाबन्दी उल्लंघन गरेको भन्दै व्यापक आलोचना भएपछि क्लार्कले आज पत्रकार सम्मेलनमार्फत् राजीनामाको घोषणा गर्नुभएको हो । गत अप्रिलमा बन्दाबन्दी उल्लंघन गर्दै परिवारसहित समुद्री किनारमा घुम्न गएपछि स्वास्थ्यमन्त्री क्लार्कको कडा आलोचना भएको थियो ।

न्युजिल्यान्डमा बन्दाबन्दी लागू भएपछिको पहिलो सप्ताहमा गाडी चलाएर उहाँ करिब २० किलोमिटर पर रहेको समुद्री किनारमा घुम्न निस्किनुभएको थियो । क्लार्कले आफू स्वास्थ्यमन्त्रीको पदमा बसिरहँदा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सरकारले चालेका कदमप्रति नकारात्मक टिप्पणी बढ्ने भन्दै राजीनामा दिएको बताउनुभयो । प्रधानमन्त्री जसिन्डा आर्डनले क्लार्कको राजीनामा स्वीकृत गरिसकेको बीबीसीले लेखेको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा न्युजिल्यान्डले चालेका कदमको विश्वभरबाट प्रशंसा भइरहे पनि मुलुकभित्रै भने स्वास्थ्यमन्त्री क्लार्कको व्यापक आलोचना भइरहेको थियो । उहाँले पहिले नै राजीनामा दिने बताए पनि त्यतिबेला संक्रमण नियन्त्रणमा आइनसकेकाले प्रधानमन्त्री आर्डनले स्वीकृत गर्नुभएको थिएन ।

प्रधानमन्त्री आर्डनले स्वास्थ्यमन्त्री क्लार्कको राजीनामाका विषयमा प्रतिक्रिया दिँदै मुलुकको स्वास्थ्य नेतृत्वले नागरिकको मतलाई सम्मान गरेको बताउनुभयो । आउँदो सेप्टेम्बरमा चुनाव नभएसम्मका लागि स्वास्थ्यमन्त्रीको जिम्मेवारी शिक्षामन्त्री क्रिस हिप्किन्सले सम्हाल्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू