अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२६ | Colorodo: 03:41

वैदेशिक रोजगारीमा सोचेजति असर नपरेको अर्थमन्त्रीको दाबी

बिआरटीनेपाल २०७७ असार १५ गते ७:३३ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा सोचेजति असर नपरेको भन्दै यो नेपाली अर्थतन्त्रका लागि सकारात्मक भएको बताउनुभएको छ । राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री खतिवडाले कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा रहेका धेरै नेपाली समस्यामा पर्ने अनुमान गरिए पनि क्रमशः आर्थिक क्रियाकलाप सञ्चालन हुँदै जाँदा रोजगारीको समेत सुनिश्चितता भइरहेको बताउनुभएको हो ।

उहाँले वैदेशिक रोजगारीमा समस्यामा परेर स्वदेश फर्किने नेपालीको संख्या अनुमान गरे भन्दा कम हुने पनि बताउनुभयो । अर्थमन्त्री खतिवडाले जेठ महिनामा भित्रिएको एक खर्ब हाराहारी रेमिट्यान्सले विदेशी मुद्रा सञ्चिती र बैंकमा पर्याप्त तरलता प्रदान गरेको पनि बताउनुभयो । पछिल्लो समय विदेशबाट नेपाली कामदारको माग बढेको र नेपाली युवा पनि जान इच्छुक देखिएपछि सुरक्षा प्रबन्ध अपनाएर पठाउन थालिएको उहाँले जानकारी दिनुभयो । अर्थमन्त्री डा. खतिवडाले बैंकको ब्याजदरसमेत अब घट्ने बताउनुभयो । मौद्रिक नीतिबाट यससम्बन्धी व्यवस्था गर्ने उहाँले संकेत गर्नुभयो ।

नेपालमा आर्थिक क्रियाकलाप सबैभन्दा बढी हुने समयमा कोरोनाले प्रभाव पारेको भन्दै मन्त्री खतिवडाले बन्दाबन्दी खुकुलो भएसँगै अर्थतन्त्र पुरानै लयमा फर्कन थालेको दावी गर्नुभयो । सरकारी राजस्व र खर्चमा केही सकुंचन आए पनि क्रमशः त्यसले आफ्नो लय समात्न थालेको उहाँको भनाइ छ । वैदेशिक व्यापार र राजस्व संकलनमा ८० प्रतिशत सुधार देखिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू