अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५३ | Colorodo: 22:08

राष्ट्रियसभाबाट लिम्पियाधुरासहितको नयाँ नक्शा सर्वसम्मतिले पारित

बिआरटीनेपाल २०७७ असार ४ गते ७:४९ मा प्रकाशित

राष्ट्रिय सभाले नेपालको नयाँ नक्शासम्बन्धी संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ । विधेयकका पक्षमा सभाका ५८ मध्ये ५७ जनाले मतदान गरेका थिए । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका हुन् । राष्ट्रिय सभाको एक जना सिट रिक्त छ । बाँकी सबै मतदानमा सहभागि भएर विधेयकको पक्षमा मत दिएका हुन् ।

राष्ट्रिय सभाको आजको बैठकमा दलका शीर्ष नेताहरुले विधेयकमाथि आ–आफ्ना धारणा राखेका थिए । बिधेयकको विरोधमा कसैले संशोधन पनि दर्ता गराएका थिएनन् । दफावार छलफल सकिएपछि कानुन न्याय तथा संसदीय मामलामन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनेर प्रस्ताव पेश गर्नुभएको थियो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको निशान छापमा रहेको नक्शा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधि सभाले पनि सर्वसम्मत पारित गरिसकेको छ ।

राष्ट्रिय सभाले अब विधेयक पारित भएको सूचना प्रतिनिधि सभालाई दिनेछ । प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर विधेयक सभाुमखबाट प्रमाणित गराई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप समेटिनेछ । गत जेठ ७ गते सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्शा जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू