अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५४ | Colorodo: 10:09

मुलुकमा ८४ दिनपछि लकडाउन खुकुलो, सरकारी कार्यालयमा सेवाग्राहीको भीड

बिआरटीनेपाल २०७७ असार १ गते ७:०४ मा प्रकाशित

सरकारले आजबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकांश कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ । यससँगै सडकमा पनि सवारी चाप बढेको छ । सरकारले कोभिड–१९ जोखिमबाट बचाउनका लागि गत चैत ११ गतेदेखि गरेको बन्दाबन्दीपछि आजबाट धेरै कार्यालयहरु खुलाउने निर्णय गरेको थियो । सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरु आजदेखि पूर्ण रुपमा खुलेका छन् ।

कार्यालय खुले पनि भीडभाड नगरी सामाजिक दुरी कायम गरेर काम गनुपर्ने सरकारको निर्णयअनुसार आलोपालो प्रणालीमा काम शुरु भएको छ । सर्वोच्च अदालतसहित देशभरका अदालतमा बन्दाबन्दीको समयमा माहामारीसम्बन्धी र बन्दीका मुद्दा हेरिए पनि अहिले केही सेवा विस्तार गरिएको छ ।

लकडाउन खुकुलो भएसंगै बैंक तथा वित्तीय संस्था, सहकारी र बीमा सेवा पनि खुलेका छन् । सरकारले आजदेखि सरकारी कार्यालयका साथै शिक्षण संस्थाका कार्यालय (प्रशासनिक काम मात्र हुने तर पठनपाठन नहुने), गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय खु्ल्ने निर्णय गरेको थियो ।

सार्वजनिक तथा जोर–बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनको सिटको एक लहरमा एक जना मात्र यात्रु राख्ने, अनिवार्य मास्क लगाउने, स्यानिटाइजरको व्यवस्था मिलाउने, सवारी साधानलाई दैनिक निसङ्क्रमित गर्ने ब्यवस्था मिलाईएको छ ।

खुकुलो लकडाउनका बीच देशको प्रमुख प्रशासनिक स्थान सिंहदरवारमा आज बिहान ८ बजेदेखि नै चहलपहल शुरु भएको थियो । सिंहदरबारको दक्षिण गेटस्थित प्रवेशद्वारमा दिउँसोसम्म भीडभाड निकै देखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू